
पोखरा, कोभिड १९ का कारण विगत ४१ दिन देखि लकडाउनमा रहेर खाद्यान्न संकटमा परेका बागलुङका खेलाडीहरुलाई आज जिल्ला खेलकुद बिकास समिती बागलुङको पहलमा राहत प्रदान गरिएको छ ।
गण्डकी प्रदेश भित्र कुनै पनि जिल्लाका खेलाडीहरुकोे चुल्हो निभ्न नदिने संकल्प अनुसार समस्यामा परेका बागलुङका खेलाडीलाई राहत प्रदान गरिएको हो । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका निवर्तमान अध्यक्ष सम्पन्न श्रेष्ठले जानकारी दिए अनुसार १७ जना लाई राहत बाँडिएको छ ।

जिल्ला खेलकुद बिकास समिती बागलुङको पहलमा निवर्तमान अध्यक्ष तथा संयोजक धन बहादुर परियार, निवर्तमान सदस्य सूर्य लामिछाने, कार्यालय प्रमुख भिमसेन शाक्य, प्रशिक्षकहरु दिल बहादुर किशान, पर्शु बोहरा र धनराज महर्जनले खेलाडीहरुलाई राहत प्रदान गरे । खेलाडीलाई राहत सामाग्रीका लागि बागलुङका विभिन्न समाजसेवी र व्यववसायीहरुले सहयोग गरेका थिए ।
यसरी राहत प्राप्त गर्ने खेलाडीहरुमा उशु, तेक्वान्दो, सुटिङ, फुटसल र कराँतेका खेलाडीहरु रहेका छन । उनीहरुलाई चामल, दाल, तेल, नुन, चिनी, सावुन लगाएतका अत्यावश्यक सामाग्री वितरण गरिएको छ ।
निवर्तमान क्षेत्रिय अध्यक्ष श्रेष्ठका अनुसार यो अभियानले लकडाउनले समस्यामा परेका खेलाडीहरु यति बेला सम्पर्क आउन थालेका छन । उनले भने–“हिजो पनि पदमा बस्दा खेलाडीकै विषयमा सोचियो, पदमा नहुँदा पनि हामी खेलाडीको समस्यामा एकाकार हुन चाहन्छौ ।” उनले थपे–“म सहित जिल्लाका निवर्तमान अध्यक्षज्युहरुले खेलाडीहरुको चुल्हो निभ्न नदिने संकल्प लिएका छौं, यो संकल्प पुरा गर्छौ ।” “इच्छा शक्ति भयो भने पदले केही फरक पार्दो रहनेछ, पदमा भए पनि नभए पनि खेलाडीको विषय र खेलकुद बिकासका लागि हाम्रो पहल जारी रहनेछ” उनले प्रष्टाए ।
