पोखरा बाट गुमनाम कपहरु………..!

केशव पाठक/पोखरा / तस्बिरः सुदर्शन रञ्जित
पोखरा गण्डकी प्रदेशको सदरमुकाम यति बेला प्रदेशको राजधानी । फुटबलमा संधै अग्रणी । धेरै खेलाडीहरु जन्मे । संधै बोलबाला भयो फुटबलमा गण्डकी प्रदेशको । राष्ट्रिय र अन्तर्राष्ट्रिय परिवेशमा जन्मिएका खेलाडीको ईतिहास लामो छ । यि खेलाडीहरु जन्माउने मध्ये धेरै कपहरु स्थापित भए । तर यति बेला गुमनाम छन ।

इतिहासमा दर्ज यि कपहरु उती बेला निकै रोमाञ्चपुर्ण हुन्थे । खेलहुने बेला दर्शकहरु घरको झ्याल ढोका बन्द गरेर फुटबल मैदान पुग्थे । रानीपौवाको शैनिक व्यारेक, पिएन क्याम्पस, टुँडी खेल र अम्मर सिंह खेल मैदान उती बेला फुटबल आयोजना हुने मुख्यस्थल थिए ।  पोखरा रंगशाला बने पछि रंगशालामा फुटबल खेल हुन थाले ।

उती बेला टिम भनेको वारी र पारीका हुन्थे । वारी पारी भन्नाले सेती पूर्व र पश्चिम तर्फ । वारी पारीका जुन सुकै टिम भिड्दा दर्शकको ओइरो हुन्थ्यो । मैदान भित्र दुई टिमको भिडन्त हेर्न लायक हुन्थ्यो । सेती नदी वारपार गर्न महेन्द्रपुलमा एउटा फट्के थियो । एक पटकमा एक जना वार पार गर्न सकिन्थयो । त्यही फट्के बाट नेपाली सेनाको क्याम्प रानीपौवामा दर्शक फुटबल हेर्न पुग्थे ।

पोखरामा आयोजना भएको मध्ये पहिलो कप भनेको थकाली कप थियो । थकाली समुदायले थकाली च्यालेन्ज शिल्डको नाम बाट यो २०१७ मा सुरु भयो । स्थानिय प्रतियोगिता भए पनि यसको ठूलो महत्व थियो । उति बेला खेल जितेर नगद दिने चलन नभएको बताउँछन पूर्व राष्ट्रिय खेलाडी एवम प्रशिक्षक शम्भु केसी । कप, मेडल र शिल्ड आयोजकले प्रदान गर्थे । २०३० सम्म निरन्तरता पायो यो प्रतियोगिताले ।

वि.सं २०२७ साल बाट फुटबल मैदान छिरेका पुर्व राष्ट्रिय खेलाडी खेम गुरुङ त्यो बेलाको फुटबल प्रतियोगिता सम्झिदै भन्छन–“शैनिक व्यारेक रानीपौवामा २५ पैसा (एक सुका) तिर्नु पर्थ्यो ।” उनले थपे–“हामी सानो छँदा सिनियर खेलाडीको फुटबल बुट बोके पछि गेटमा बस्नेहरुले फलानो खेलाडीको बुट ल्याएको छु भनेपछि सम्मानका साथ भित्र छिर्न दिन्थे ।” सेती वारी र पारीको घमासान चल्थ्यो । हारे पछि जितेकोले टिन ठटाएर लखेट्ने चलन थियो । फुटबललाई भकुण्डो भनिन्थ्यो । मुस्किलले एक प्रतियोगितामा २ वटा भन्दा वढी भकुण्डो हुन्थेनन । हार्ने जस्तो भयो भने मज्जाले कसेर हान्ने चलन थियो । भकुण्डो सेती खोँचमा खसेपछि खेलनै रद्ध हुन्थ्यो ।

विसं २०३० मा थकाली च्यालेन्ज शिल्डले निरन्तरता नपाए पछि सोही वर्ष बाट विन्द्ययवासिनी च्यालेन्ज लिग प्रतियोगिता पोखराको पि.एन क्याम्पसमा सुरु भयो । यो प्रतियोगिता २०३९ सम्म जारी रह्यो । २०३८ बाट डाँफे कला मन्दिरका संस्थापक स्व. मिन बहादुर गुरुङले आफ्नो संस्थाको तर्फ बाट प्रायोजन गरे । पोखरामा डाँफे रनिङ कप फुटबल प्रतियोगिता शुरु भएको पूर्व राष्ट्रिय खेलाडी आनन्द रञ्जित बताउँछन । यो कप २०४० सम्म निरन्तरता पायो ।

नेपालमा २०३१ सालमा एन्फाको गठन पछि केही प्रतियोगिताहरुले एन्फाको मान्यता समेत पाएको इतिहास छ । पोखरामा २०३० बाट अन्तर वडा स्तरिय फुटबल प्रतियोगिता शुरु भयो । माछापुच्छ्रे कप नाम बाट शुरु भएको यो कपले निरन्तरता भने खासै पाएन । २०४० सम्म यो प्रतियोगिता जारी रहे पनि विचमा भने धेरै पटक रोकिएको थियो ।

तत्कालिन पोखरा नगर पञ्चायतले समेत पोखरा कपको नाम बाट अन्तर क्लव स्तरिय फुटबल प्रतियोगिता आयोजना गर्यो । यो कप दुई वर्ष भन्दा अघि बढन सकेन । पोखरामा आयोजना भएका संगम कप, पोखरा कप, मितेरी कप, स्व.हिरा खडका कप (विद्यालय स्तरिय), सहारा कप, भिमसेन दाहाल कप (विद्यालय स्तरिय) जस्ता प्रतियोगिताहरु आयोजना भएपनि यि प्रतियोगिताहरु खासै अगाडी बढन सकेनन । केही कपहरु प्छि सेभेन ए साइड सम्म आएर थन्किए ।

२०५७ सालमा मेयर कप फुटबल प्रतियोगिता शुरु भयो । तर देशमा बढेको राजनितिक द्वन्दका कारण मेयर कप समेत त्यसै सेलाउन पुग्यो ।

तत्कलिन अवस्थामा पोखरामा दुई चर्चित क्लव थिए । सेती पारीको विजयी क्लव र सेती वारीको हिमाली क्लव । यि दुई क्लव बाट धेरै राष्ट्रिय खेलाडीहरु उत्पादन भए । दशैं वा विशेष पर्वमा फुटबल प्रतियोगिताहरु आयोजना हुन्थे । ति टिम बाट छुट्टीमा आएका लाहुरे हरु तानातानमा पर्थे । एकले अर्कोलाई जित्न टिममा समावेश गरिन्थ्यो ।

सेती पारी विजयी क्लव बाट तत्कालिन समयमा चर्चित खेलाडीमा राधेश्याम रञ्जित, शिव शंकर रञ्जित, खेम गुरुङ, लोक बहादुर रञ्जित, कल्याण शेरचन, नरेन्द्र चन्द, जित बहादुर श्रेष्ठ, हेम बहादुर गुरुङ थिए भने हिमाली क्लव बाट मोतीमान शाक्य, गजेन्द्र गुरुङ (गर्वे), सुवर्ण शाक्य, शम्भु कार्की, विष्णु वडगामी, रुद्रनाथ पराजुली, आनन्द रञ्जित, डम्मर शेरचन, डम्मर गुरुङ लगाएत खेलाडीहरु मैदानमा उत्रिन्थे । यो पुस्ताका खेलाडीले फुटबलको माहोल बनाउन ठूलो भुमिका खेले ।

तत्कालिन समयमा राजा वा रानीको जन्मोत्सव मनाउन समेत फुटबल प्रतियोगिताहरु आयोजना हुन्थे । तत्कालिन गण्डकी अञ्चल क्षेत्रिय खेलकुदले समेत फुटबल प्रतियोगिताको आयोजना गथ्र्यो । सो बेला सामाजिक संस्था वा क्लव हरुले विरलै रुपमा फुटबल प्रतियोगिता आयोजना गर्थे । ७ वा ८ टिम भन्दा धेरै टिमको सहभागिता नहुने सो बेलाको कुरा सम्झिदै आन्नद रञ्जित बताउँछन ।

सो बेला चर्चित टिम भनेकै हिमाली क्लव र विजयी टिम थिए । सोल्टी–११, नौलो तारा, पहाडी–११, अन्नपुर्ण क्लव, युनाइटेड, व्रिगेड, भञ्ज्याङ क्लव, झङ्कार क्लवले पोखराको फुटबललाई लामो समय डोर्याउने काम गरे । फुटबल खेलको आधुनिक विकास संगै यि क्लवहरु प्नि विस्तारै हराउँदै गए । सो बेलाका केही क्लवका नामका क्लव यद्यपी अहिले पनि छन । तर त्यो बेलाको फुटबल खेलले दर्शकहरुको मन भने संधै जितेको थियो ।

पोखरा खेलकुदको शहर, फुटबलको शहर हो भन्दा फरक पर्दैन । तर यति बेला पोखराको फुटबल सुस्ताएको छ । फुटबलको वागडोर सम्हाल्ने एन्फा आफ्नै धोती स्यार्हन फुर्सत छैन । फुटबलको चार्म छ । दर्शकको कमी छैन । खेलाडीको नभएका होइनन । खेल्ने ठाउँको अभाव छैन । अभाव छ त केवल आयोजकको । नेतृत्वमा रहेर सबै क्लव र संस्थालाई डोर्याउनु पर्ने एन्फा अरुले डोर्याउन पर्ने स्थितीमा छ अर्थात पोखरा बाट फुटबल हराउन लागेको छ ।

पोखरामा आयोजना भएका यि कपहरुको फुटबलको माहोल बनाउन होस वा राष्ट्रिय खेलाडी उत्पादनमा अहम भुमिका छ । यि इतिहासमा दर्ज कपहरुको आफ्नै सम्मान छ । यो इतिहासबाट नयाँ पुस्ताका खेलाडीले धेरै कुरा आत्मसाथ गर्न सक्छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close