पोखराको शहिद स्मृति माविलाई कुलपति रनिङ शिल्डको उपाधि (भिडियो सहित)

पोखरा स्पोर्टस । पोखरामा सम्पन्न ‘दोस्रो कुलपति रनिङ्ग शिल्ड माविस्तरीय छात्र फुटबल’को उपाधि पोखरा १४ स्थित शहिद स्मृति माविले जितेको छ ।पोखरा रंगशाला बुधबार सम्पन्न फाइनल खेलमा स्टेप वाई स्टेप माविलाई टाइव्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । उपाधि संगै शहिद स्मृतिले नगद १ लाखका साथमा रनिङ शिल्ड उचालेको छ भने उपविजेता बन्न सफल स्टेप वाई स्टेपले नगद रु ५० हजार प्राप्त गरेको छ ।

एक साता सम्म सञ्चालन भएको प्रतियोगिताको उत्कृष्ट खेलाडी शहिद स्मृतिका गोल रक्षक केश बहादुर रोक्का मगर बनेका छन् । उनले ट्रफीसहित नगद १५ हजार प्राप्त गरे ।  यस अघि ४०–४० मिनेट खेलाइएको रोमाञ्चपूर्ण खेलमा शहिद स्मृति र स्टेप वाई स्टेपले २–२ गोल गरे पछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । १०–१० मिनेट थप गरिएको खेलमा समेत गोल हुन नसके पछि खेल टाइव्रेकरमा धकेलिएको थियो ।

निर्धारित समयको सातौं मिनेटमा सरुन सुनारले गोल गर्दै शहिद स्मृतिका लागि गोलको खाता खोले पनि २७ औं मिनेटमा स्टेपवाई स्टेपका लागि निराजन मगरले गोल गर्दै बरावरी गरे । शहिदस्मृतीका लागि केश बहादुर रोक्का मगरले ४७औं मिनेटमा गोल गर्दै पुनः टिमलाई २–१ ले अग्रता दिए । खेलको ६१ औं मिनेटमा स्टेप वाई स्टेपका अवन राना दोहोरो ऐलो कार्ड खाँदै मैदानबाट बाहिरिए । १० जना खेलाडीमा खुम्चिएको स्टेपबाई स्टेपले दोस्रो हाफको इन्जुरी समयमा किपरको गल्तीको फाइदा उठाउँदै जवाफी गोल फर्कायो । टिमका लागि कुन्ज पौडेलले गोल गरे ।

यस अघि, समापन कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सरकारका सामाजिक विकास, यूवा तथा खेलकुद मन्त्री बिन्दु कुमार थापाले यस प्रकार प्रतियोगिताले खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । विश्वविद्यालयले खेलकुदको शिक्षा संगै विद्यार्थीहरुको बहुआयामिक विकासमा समेत उत्तिकै भूमिका खेलेको बताउँदै भने–“प्रदेश सरकारले आफ्नै विश्वविद्यालय स्थापना हुनुपर्छ भनेर नै विश्वविद्यालय स्थापना भएको र विश्वविद्यालयको विकासका लागि सरकारले प्रत्यक्ष सहयोग गरेको छ ।”

पोखरा आफैमा पर्यटकिए संगै खेलकुदको गन्तव्य रहेको जनाउँदै मन्त्री थापाले विश्वविद्यालयले खेलकुदको पाठ्यक्रमलाई जोडेर खेलकुद कार्यक्रम आयोजना गर्नु खुसीको विषय रहेको जनाउँदै खेलकुदले विद्यार्थीहरुको स्वस्थ मनोभावना जागृत गर्न समेत भूमिका रहने बताए ।

गण्डकी विश्वविद्यालयका कुलपति गणेशमान गुरुङको अध्यक्षतामा भएको समापन कार्यक्रममा विश्वविद्यालय उपकुलपति प्रा.डा. नवराज देवकोटाले समेत आफ्ना भनाई राखेका थिए ।

प्रतियोगितामा बिजेता टिम तथा खेलाडीहरुलाई कुलपति प्रा.डा. गुरुङ, उपकुलपति प्रा.डा देवकोटा, विश्वविद्यालयका रजिस्टार डा.कैलाश तिमिल्सिना, प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङले शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए । प्रतियोगितामा २३ विद्यालयको सहभागिता रहेको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close