
केशव पाठक/पोखरा,
पोखरा रंगशाला फुटबल मैदानको ठिक पश्चिम तर्फको बैकल्पिक फुटबल मैदानको कामलाई पश्चिमाञ्चल क्षेत्रिय खेलकुदले पुनः सुचारु गरेको छ ।
युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा (सुनार)ले १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई मध्येनजर गर्दै मुख्य फुटबल स्टेडियम संगै उक्त मैदानको समेत पुर्ननिर्माण गर्न निर्देशन दिए बमोजिम राष्ट्रिय खेलकुद परिषदले निर्माणको कामलाई अघि बढाएको थियो ।

पश्चिमाञ्चल क्षेत्रिय खेलकुदले कामलाई प्रभावकारी बनाउन भन्दै राखेप बाट निकाशा भएको ३० लाख बजेट उपभोक्त समितीलाई कामको जिम्मा दियो । अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीले कामलाई तिव्रता दिने भन्दै काम शुरु गरिए पनि ४ महिना सम्म काम अलपत्र रह्यो । यति बेला पुनः परिषदले आफैले कामलाई अगाडी बढाउने भएको हो ।
के भन्छन राखेप सदस्य गुरुङ
राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले विगतमा के भयो त्यस तर्फ अब फर्कन नचाहने बताउँदै अव यो मैदान ट्रयाक एण्ड फिल्ड सहित यो मैदानको कामलाई निरन्तरता दिने बताए । “हामी धेरै गफ भन्दा पनि काम गर्न चाहन्छौ । बनेका संरचनाको संरक्षण संगै नवौ राष्ट्रिय खेलकुदको तिव्र तयारीमा हामी जुट्नु पर्छ” उनले भने–“स्वंय मन्त्रीज्युको निर्देशन र सदस्य सचिब रमेश सिलवालज्युको पहलमा यो मैदानको काम सुरु भएको हो ।
२०६४ सालमा तत्कालिन अखिल नेपाल फुटबल संघ एन्फा कास्कीको पहलमा यो मैदान निर्माण गरिएको थियो । एन्फाका तत्कालिन जिल्ला सदस्य तथा केन्द्रिय प्रतिनिधी समेत रहेका दिनेश श्रेष्ठले करिव ९ लाख खर्च गरिएको बताए । “हामीले उतीबेला नै यसलाई बैकल्पिक फुटबल मैदान आवश्यक पर्छ भनेर निर्माण गरेका थियौं” उनले भने–“मैदान सम्याउन मात्रै ५ सय ट्रिप माटो राखिएको थियो ।”
त्यस्तै निर्माण समितीका अर्का सदस्य तथा अग्रज फोटो पत्रकार सुदर्शन रञ्जितले सो बेला नेपाल र पाकिस्तान विचको मैत्रीपुर्ण म्याच बाट उठेको रकमले मैदान बनाइएको बताए ।

उक्त मैदानलाई पुर्ननिर्माण गरि बैकल्पिक मैदानको रुपमा अघि बढाउन १०५ मिटर लम्वाई र ६८ मिटर चौडाई बनाइने पश्चिमाञ्चल क्षेत्रिय खेलकुदमा कार्यरत इन्जिनियर प्रनिश ताम्राकारले बताए । “अब यो मैदान पनि अन्तर्राष्ट्रिय मापदण्डमा तयार हुन्छ” उनले भने । कुल ९२ लाखको एस्टिमेट गरिएपनि ३० लाख राखेप बाट प्राप्त रकमले रिटेनिङ वाल र केही भाग सम्याउने काम उपाभोक्ता समिती मार्फत गरिएको उनले बताए ।
रंगशालामा बैकल्पिक फुटबल मैदान भएपछि विद्यालयस्तरका कुनै पनि कार्यक्रमहरु आयोजना गर्न अब सजिलो हुने राखेप सदस्य गुरुङको भनाई छ । उनले मैदानलाई फिलिङ गर्न करिब ३ हजार ५ सय घन मिटर माटो आवश्यक पर्ने र उक्त माटो समेत निशुल्करुपमा प्राप्त भएको उनले जानकारी दिए । २०७७ फागुन २० देखि २७ गते सम्म हुने नवौको लागि कुनै कसर बाँकी नराख्ने बताउँदै बैकल्पिक फुटबल मैदान मर्निङ वाक गर्ने र अन्य खेलकुदका कार्यक्रम गर्न सहजता हुने उल्लेख गरे ।

किन आवश्यक पर्यो बैकल्पिक मैदान
पोखरा रंगशाला भित्र करिव १ खर्व २८ करोड ५० लाखमा निर्माण भइरहेको मुख्य फुटबल स्टेडियम उच्च् स्तरिय रहेकोले साना तिना फुटबलका प्रतियोगिता आयोजना गर्न बैकल्पिक फुटबल मैदान आवश्यक रहेको राखेप सदस्य गुरुङको भनाई छ । “सबैका लागि मुख्य फुटबल स्टेडियम सहज हुन सक्दैन” उनले थपे–“सबैको सहजता र सबैले प्रयोग गर्नका लागि पनि बैकल्पिक मैदान आवश्यक छ ।”
तस्विरः सुदर्शन रञ्जित
