१८ औं आहा ! रारा गोल्ड कपको च्याम्पियन बन्यो मनाङ

पोखरा, सहारा क्लब पोखरा द्वारा आयोजित १८ औं आहा ! रारा गोल्ड कपको च्याम्पियन नेपाल आयल करर्पोरेशन मनाङ मर्स्याङदी भएको छ ।

पोखरा रंगशालामा सम्पन्न फाइनलमा मनाङले विभागिय टोली नेपाल पुलिसलाई पेनाल्टी शुट आउटमा ४–३ गोलले पराजित गर्दै च्याम्पियन बनेको हो । उपाधी संगै मनाङले नगद १० लाख र उपविजेता पुलिसले नगद ५ लाख हात पारेका छन ।

च्याम्पियन बने संगै आहा रारा गोल्ड कपको यात्रामा मनाङले आफूलाई अव्वल बनाउँदै ६ पटक उपाधी उचाल्ने टिम बनेको छ । पुलिसले क्याराभान कप सहित ६ पटक उपाधी उचालेको छ ।

सम्पन्न खेलको निर्धारित समय र पछि थप गरिएको ३० मिनेटको समयमा दुवै टिमका तर्फ बाट गोल हुन नसकेपछि खेल पेनाल्टी शुट आउटमा पुगेको थियो । मनाङलाई जित दिलाउन अन्जन विष्ट, पुजन उपरकोटी, सुरज बिक र रन्जन विष्टले गोल गरेका थिए भने मनाङका निशान लिम्बुको प्रहार भने पुलिसका किपर रोशन खडकाले उत्कृष्ट बचाउ गरेका थिए ।

पुलिसको तर्फ बाट पेनाल्टी शुट आउटमा भोला सिलवाल, हेम तामाङ र बुद्ध बल तामाङले गोल गरेका थिए । पुलिसका तेज तामाङ र अजित भण्डारीको प्रहारलाई भने मनाङका किपर अशोक बरालले उत्कृष्ट बचाउ गर्दै टिमलाई उपाधी दिलाए ।

यहि फागुन २२ बाट भएको आहा रारा फुटबल प्रतियोगितामा पुलिसका अजित भण्डारी उत्कृष्ट खेलाडी घोषित हुँदै अप्रिला स्कुटर हात पारे । यसै गरि प्रतियोगिताको अन्य विद्यामा मनाङका किपर अशोक बराल उत्कृष्ट गोल किपर, मनाङका नितिन थापा उत्कृष्ट मिड फिल्डर, मनाङका सुरज बिक उत्कृष्ट डिफेन्डर, मनाङका अन्जन विष्ट, फेयर प्ले ट्रफी थ्रि स्टार क्लव, उत्कृष्ट स्ट्राइकर, मनाङका प्रशिक्षक फुजा तोपे उत्कृष्ट प्रशिक्षक घोषित हुँदै समान १५ हजार नगद सहित ट्रफी प्राप्त गरे ।

यता प्रतियोगितामा सर्वाधिक गोलकर्तामा भने ५ जना खेलाडी परेका छन । पुलिसका भरत शाह, मनाङका अन्जन विष्ट, पुलिसका निर कुमार राई, थ्रि स्टारका शुसान श्रेष्ठ र सहाराका त्रिदेव गुरुङले समान २–२ गोल गर्दै सर्वाधिक गोलकर्ताको हकदार बनेका थिए ।

बिजेता टिम तथा खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब रमेश कुमार सिलवाल, अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पा, मनाङका संस्थापक अध्यक्ष टासी घले, राखेपका सदस्य राजेश गुरुङ लगाएतले ट्रफी मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

यस अघि बोल्दै राखेपका सदस्य सचिब सिलवालले पोखरालाई खेलकुदको हव बनाउन परिषदले प्रयास गरिरहेको बताए । उनले पोखरा रंगशालालाई तिन महिना भित्र २० हजार दर्शक क्षमताको बनाउने गरि सम्पुर्ण काम सक्ने बताउँदै पोखरा अव कुनै पनि अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्न सकिने भएको उल्लेख गरे । उनले खेलकुदको पुर्वाधार विकास, खेलाडीको उत्पादन र संगै खेलाडीलाई सम्मान गर्न परिषदले कामको थालनी गरेको बताए ।

क्लबका अध्यक्ष केशव बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका संस्थापक सदस्य नरेन्द्र गुरुङलाई दोसल्ला र सम्मानपत्र द्वारा सम्मान गरिएको थियो । कार्यक्रममा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले समेत पोखरमा अव कुनै पनि अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता गर्न सक्षम रहेको कुरा बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close