
पोखरा, सहारा क्लब पोखरा द्वारा आयोजित १८ औं आहा रारा गोल्ड कपको उपाधी जित्ने दावी दुबै टिमले गरेका छन । भोली (शनिबार) हुने फाइनल भिडन्तमा पुगेको नेपाल आयल करर्पोरेशन मनाङ मर्स्याङदी र विभागिय टिम नेपाल पुलिसका प्रशिक्षकहरुले यस्तो दावी गरेका हुन ।
फाइनल खेलको पुर्व सन्ध्यामा आयोजित प्रि म्याच कन्फ्रेन्समा बोल्दै नेपाल पुलिसका प्रशिक्षक अनन्तराज थापाले फाइनल खेल आफ्नो टिमका लागि निकै महत्वपुर्ण रहेको बताए । उनले आफ्नो टिमको रणनिती जितका लागि हुने बताउँदै भने–“हाम्रो टिम युवा जोसले भरिएको टिम हो, हामी उपाधी उचाल्न मैदानमा उत्रिदैं छौं ।”

राजधानीमा सम्पन्न लिग र बुढाशुब्बामा मनाङ संग पराजित भएकोले यो फाइनलमा पराजित गर्दै त्यसको बदला लिने मौका नचुकाउने बताए । “मैदानमा ‘सिचुएशन’ अनुसार स्ट्राटिजी तयार गर्ने छौं र ९० मिनेट भित्र रिजल्ट आउने गरि खेल्ने छौं ।” संधै पोखराको मैदानमा दर्शकको मनाङका लागि साथ पाउने भएपनि राम्रो खेल खेलेर उनीहरुको मन आफूतिर तान्ने प्रयास हुने प्रशिक्षक अनन्त थापाले बताए ।
पोखराको मैदानमा संधै आएर खेल्न मन हुने बताउँदै प्रशिक्षक थापाले आफू खेलाडीको रुपमा होस वा प्रशिक्षकका रुपमा मोफसलमा यस्तो मैदानमा खेल्न पाउन शुखद रहेको उनले बताए ।
पुलिसका टिम कप्तान भरत शाहले फाइनलमा आफ्नो टिमले जित निकाल्नेमा आफू विश्वस्त रहेको बताए । दर्शको समर्थनले पनि खेलमा धेरै फरक पार्ने भएकोले फाइनलमा मनाङका सर्मथकहरुको ध्यान खिच्न पनि टिमले उत्कृष्ट प्रदर्शन गर्ने उनको भनाई थियो । पुलिसका लागि संधै पोखराको मैदान भाग्यशाली रहेको बताउँदै उनले टिमको हार्ड वर्क संगै लकले साथ दियो भने उपाधी उचाल्ने उनले बताए ।
यता मनाङका प्रशिक्षक फुजा तोपेले आफ्नो टिमले मैदानमा स्वाभाविक खेल्ने बताए । उनले भने–“एउटा कुरा हामीले बिर्सेका छैनौ कि हामी पुलिस जस्तो उत्कृष्ट टिम संग मैदानमा उत्रिदै छौं, जे जस्तो भए पनि हाम्रो रणनिती उपाधी उचाल्नका लागि हुनेछ ।” उनले पत्रकारहरुको एक प्रश्नको जवाफमा भने–“यहाँहरुलाई हाम्रो टिमको स्ट्रेन्थका बारेमा राम्रै बुझ्नु भएको छ, हामीले आर्मी जस्तो राम्रो टिमलाई जितेर फाइनलमा स्थान बनाएको हौं ।”
मनाङका कप्तान कमल श्रेष्ठले राम्रो टिमलाई जितेर आहा रारा गोल्ड कपको फाइनल यात्रा तय गरेको हुनाले आफ्नो टिमले उपाधीका लागि नै मैदानमा उत्रिने बताए । “पुलिस राम्रो टिम हो, स्पिड र पावर गेम खेल्छ भन्ने हेक्का हामीले राखेका छौं,” उनले थपे–“आर्मी संग जे जस्तो रणनिती थियो त्यो हामीले मैदानमा उपयोग गर्नेछौ ।” लिग र वुढाशुव्वामा पुलिसलाई जितेर आएको हुनाले पनि टिमको मनोबल उच्च रहेको उनले बताए । जितका लागि संघै झैं पोखरेली दर्शकले पनि उत्तिकै साथ दिने उनले बताए ।
