
पोखरा, १७ औं आहा ! रारा गोल्ड कपको साविक बिजेता रुस्लान थ्रि स्टार भारतको सिक्किम गान्तोक सिटी एफ सी विरुद्ध ३–० ले जित्दै सेमीफाइनल प्रवेश गरेको छ ।
पोखरा रंगशालामा पहिलो पटक भेट भएको दुवै टिमले पहिलो हाफ औसत रुपमा त्यती राम्रो खेल्न सकेनन । सिक्किमले पहिलो हाफमा थ्रिस्टारलाई मिड फिल्डमा दवाबमा राख्दै चुनौती पस्किए पनि गोल भने गर्न सकेन । ४३औं मिनेटमा डन छिरिङ लेप्चाको फ्रिकिक पोस्टबाट थोरै बाहिरिदा गान्तोक सिटीले अग्रता लिने अवसर गुमाएको थियो ।

यता खेलको दोश्रो हाफको ७९ औं मिनेटमा मिड फिल्डमा रहेका सन्जोग राईलाई दिपेश घलेले दिएको पास एक्लैले अघि बढाउँदै गोल गर्दै टिमका लागि खाता खोले । एक गोलले पछि परेको सिक्किमको युवा टिमको खेल दोश्रो हाफमा उत्कृष्ट भने हुन सकेन । दोश्रो हाफकै ८५औं मिनेटमा छिरिङ लेन्डुप भुटियाले सिधै पोस्टमा गरेको लामो प्रहारलाई थ्रीस्टारका गोलरक्षक पुर्ण चेम्जोङले मुस्किलले बचाए ।
अतिरिक्त समयको ९०+२ मिनेटमा सोनाम जाङपो भुटियाले क्लियर गर्न लागेको बल खोस्दै सुशान श्रेष्ठले टिमका लागि दोश्रो गोल थपे । सुशानले नै खेलको अन्तिम समयको ९०+३ मिनेटमा दोश्रो गोल गर्दै टिमलाई सेमीफाइनलको यात्रा तय गराए ।

खेलमा २ गोल गर्ने सुशान श्रेष्ठ म्यान अफ दिम्याच घोषित हुँदै सहारा युकेले प्रदान गर्ने नगद ५ हजारका साथा ट्रफी प्राप्त गरे । उनलाई सहारा युकेका महासचिब धनु थकाली र कार्यसमिती सदस्य मिलन तमुले नगद र ट्रफी प्रदान गरेका थिए ।
यता खेल पछि प्रतिक्रिया दिंदै सिक्किम एफ सीका प्रशिक्षक मायाल दोक लेप्चाले निर्णायकको भुमिकामा असन्तुष्टी जनाए । पहिलो हाफमा खेलाडीले केही चान्सेस क्रियट भए पनि फिनिसिङ हुन नसक्दा हार व्योहेरेको उनको भनाई थियो ।

जित पछि आफ्नो भनाई राख्दै थ्रिस्टारका प्रशिक्षक मेघराज केसी आफ्नो टिम युवाले भरिएको बताए । उनले भने–“हामी संग ९ जना खेलाडी युवा छन, अपोनेन्ट कस्तो छ भन्ने हामीलाई थाहा पनि थिएन, ५०–५० को म्याच हुँदा अवसर सिर्जना हुन सकेनन ।” उनले युवा जोसले भरिएको टिमले मेहनत गरिरहेको र सेमीफाइनलमा नेपाल पुलिस संगको भेट निक्कै महत्वपुर्ण हुने बताए ।
रुस्लान थ्रिस्टारले हालै सम्पन्न शतासी गोल्ड कप र सुदुर पश्चिमको खप्तड गोल्ड कपको उपविजेता हुँदै आहा रारा खेल्न पोखरा आएको हो ।
पोखरा रंगशालामा आयोजित एक कार्यक्रमका बिच सहारा युकेका कार्यसमिती सदस्य फोटो पत्रकार मिलन तमुका छोरा बुहारी विशाल र अक्षिताले सहारा एकेडेमीको अक्षयकोषका लागि नगद ५० हजार प्रदान गरे भने सहारा युकेका सदस्य अमृत गुरुङले समेत एकेडेमीको अक्षयकोषका लागि ५० हजार ५ सय प्रदान गरेका छन ।
भोली (मंगलबार) नेपाली सेनाको त्रिुभवन आर्मी क्लव र संकटा विच खेल हुने सहारा क्लब पोखराले जनाएको छ ।
