उद्घाटन खेलमा ब्रिगेड विरुद्ध सहाराको जित, पुलिस संग भेट पक्का, सुजल सम्मानित

केशव पाठक/पोखरा,
१८ औं संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लव पोखरा ब्रिगेड ब्वाइज संग ३–२ गोल अन्तरले जित दर्ता गरेको छ ।

खेलको पहिलो हाफको २६ औं मिनेटमा जिवन रायमाझी रातो कार्ड खाँदै मैदान बाट बाहिरिए पछि सहारा १० खेलाडीमा सिमित भएको थियो । रायमाझीले खेलको ९ मिनेट र २६ औं मिनेटमा एलो कार्डको सामना गरेका थिए ।

१० खेलाडीमा सिमित सहाराले खेलको हाफ टाइम सम्म बराबरी खेले पनि दोश्रो हाफको ५८ औं मिनेटमा ब्रिगेडले सहारा विरुद्ध पहिलो गोल गर्यो । व्रिगेडका विदेशी खेलाडी करिम ए बुसारीको पासमा राजेश परियारले गोल गरे । सहाराले त्यसको बदला भने ठिक ६२ मिनेटमा लियो । सहाराका कमल थापाको फ्रि किकमा सहाराको लागि मैदानमा रहेका विदेशी खेलाडी युरिचले गरेको हेड प्रहार सोझै गोलमा परिणत भयो । लगतै १ मिनेटमा सहाराले पुनः दोश्रो गोलको सामना गर्यो ।

सहाराको डि एरिया भित्र रहेको बल दुवै टिमको खोसा खोस भइरहेको बेला विजय गुरुङले सबैलाई चकित पार्दै बिग्रेडका लागि ६३ औं मिनेटमा दोश्रो गोल गरे । दुई एकले पछि परेको सहाराले खेलको ७९ औं मिनेटमा व्रिगेड विरुद्ध बराबरी गोल फर्कायो । विदेशी खेलाडी युरिचको फ्रि किकमा डि एरिया भित्र रहेका त्रिदेव गुरुङले हेड मार्फत बललाई गोलको दिशा देखाए ।

खेलमा थपिएको अतिरिक्त समय भने व्रिगेडका लागि फापेन । १५ मिनेट थपिएको अतिरिक्त समयको १०० औं मिनेटमा सहाराका गोल रक्षक अपर्ण कार्कीको फ्रि किकलाई खेलमा प्लेयर अफ दि म्याच समेत भएका त्रिदेव गुरुङले हेड मार्फत गोल गर्दै टिमलाई क्वाटर फाइनलमा विभागिय टिम नेपाल पुलिस संग भेट पक्का गराए ।

यस अघि प्रतियोगिताको उद्घाटन गर्दे गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी शुब्बा गुरुङले आहा ! रारा फुटबल प्रतियोगिता प्रदेशकै सान भएको बताए । गण्डकी प्रदेशको खेलकुद विकासमा सहाराको अहम भुमिका रहेको भन्दै यस्ता प्रतियोगिताले पोखरालाई खेलकुदको हव बनाउन सहयोग मिल्ने बताए ।

कार्यक्रममा मुख्यमन्त्री गुरुङले सहारा द्वारा घोषित सर्वाेत्कृष्ट फुटबल खेलाडीका रुपमा राष्ट्रिय फुटबल खेलाडी सुजल श्रेष्ठलाई नगद ३५ हजार, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरे ।

सहारा क्लबका अध्यक्ष केशव बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा सांसद तथा हिम श्री फुड्सका अध्यक्ष सुर्य बहादुर केसी, राष्ट्रिय खेलकुद परिषद सदस्य राजेश गुरुङले समेत आफ्ना धारणा राखेका थिए ।

सोही कार्यक्रममा सहारा क्लव पोखराले पोखरा रंगशालाको संरक्षणका लागि नगद ४ लाख समेत प्रदान गरेको छ । उक्त रकम पोखरा रंगशालाको शुरक्षा र पिउने पानीका लागि खर्च गरिने राखेप सदस्य गुरुङले बताए ।

शुक्रबार दिनको २ बजे हुने दोश्रो खेल विभागिय टोली एपिएफ क्लबको सामान झापा ११ ले गर्ने अयोजक सहारा क्लबले जनाएको छ ।
तस्विरः सुदर्शन रञ्जित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close