
केशव पाठक/पोखरा,
नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा पोखरामा ‘प्याराग्लाईडिङ वर्ल्ड कप एशियन टुर–२०२०’ अन्तरगतको छनौट खेल तथा ‘१९ औं नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनशिप’ तेश्रो दिनको खेल सफलतापूर्वक सम्पन्न भएको छ ।
उक्त प्रतियोगिता अन्तरगत विहिवार ४२.७ किलोमिटरको क्रस कन्ट्री इभेन्ट तर्फको ‘टास्क’ सम्पन्न भएको छ । पोखरामा जारी वर्ल्ड कप एशियन टुर–२०२० पोखराका कम्पिटिसन डाइरेक्टर विमल अधिकारीका अनुसार ९२ जना मध्ये ५२ जनाले टास्क पुरा गरेका छन ।
सम्पन्न क्रस कन्ट्री टिम इभेन्ट तर्फ कोरियाले अग्र स्थान बनाएको छ । २० अंकका साथ कोरिया अग्रस्थानमा रहँदा आयोजक नेपाल १७ अंकका साथ दोश्रो र नेपालकै अर्को टिम ‘टिम एभरेष्ट’ १५ अंकका साथ तेश्रो स्थानमा रहेको छ ।
यता एकल तर्फको प्रतिष्पर्धामा भने कोरियाका चिक्योङ हा ७५० अंकका साथ पहिलो, कोरियाका जङ्गमेन चोई ७३४ अंकका साथ दोश्रो, मुनसिउब लिम ७२६ अंकका साथ तेश्रो स्थान बनाएका छन भने नेपालका युवा खेलाडी युकेश गुरुङ ७१९ अंकका साथ चौथो स्थानमा रहँदै कोरियाका खेलाडीलाई पछ्याईरहेका छन ।
त्यसै गरि महिला एकल तर्फ अमेरिकाकी ग्यालेन कर्कप्याट्रिक २०६ अंक बटुल्दै अग्र स्थान बनाएकी छन भने कोरियाकी याना ली १५६ अंकका साथ दोश्रो स्थानमा छन । स्विजरल्याण्डकी सुसन स्टोफर र भारतकी रिनुल पशांकर क्रमश ६८ र ५२ अंकका साथ तेश्रो र चौथो स्थानमा रहेका छन ।
आजको टास्क अन्तरगत प्रतियोगीहरुले सराङकोट हुँदै नौ डाँडा, ठूलाखेत, लामा गाउँ, पुम्दी भुम्दी, धम्पुस, मेतलाङ हुँदै खपौंदीमा ल्याण्डिङ गरेको अधिकारी बताए । तिन दिन सम्म पोखराको मौसम विग्रदा खेलमा पूर्णरुपमा वाधा पुगेको थियो भने प्रतियोगिहरु सराङकोट उडान क्षेत्र बाट रित्तो हात फर्किएका थिए ।
नेपालमा आयोजना भएको अहिले सम्मकै प्याराग्लाइडिङको ठूलो प्रतियोगितामा मानिएको मध्येको एक प्रतियोगितामा २० देशका ९२ जना पाइलटहरुले विश्वकप छनौटका लागि प्रतिष्पर्धा गरिरहेको प्रतियोगिताका संयोजक एवम ना का निवर्तमान अध्यक्ष योगेश भट्टराईले बताएका छन । नेपाली १३ जना सहित सहभागिता रहेको उक्त प्रतियोगितामा ८ जना विदेशी महिला खेलाडी समेत रहेका छन ।
नेपाल भ्रमण २०२० को अवसरमा आयोजित उक्त प्रतियोगितामा छनौट भएका खेलाडीले विश्वकपमा पुग्न एशिया तिन देशमा हुने विभिन्न चरणका खेलहरुमा जित्नुपर्ने ना का अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए । यहि फागुन १७ गते सम्म संचालन हुने प्रतियोगिता अन्तरगत विश्वकप टुरका लागि र नेपाल तर्फको च्याम्पियनशिपमा विजेता खेलाडीलाई पुरस्कृत गरिनेछ ।
एशियन अन्तरगत एफएआईले एशियन प्याराग्लाइडिङ वर्ल्ड कप एशोसियसनको मातहातमा रहि सन २०२० का लागि नेपाल, चिन र इण्डोनेशियामा गरि तिन वटा टुरहरु समेत आयोजना गर्न स्विकृती दिएको हो । प्रतियोगिताको मुख्य उद्धेश्य एशियाका प्याराग्लाइडिङ खेलाडीलाई विश्वकपको सूपर फाइनलमा सोझै प्रवेश दिनका लागि भएको हो । विश्वकपको सुपर फाइनल भने सन २०२१ मा फ्रान्समा हुनेछ ।
प्याराग्लाइडिङ प्रतियोगितालाई पूर्णरुपमा शुरक्षित बनाउन नेपाली सेनाले सहयोग गरिरहेको छ । सम्भावित दुर्घटना भएमा हेलिकप्टर सहित सेनाहरु परिचालित गरि प्याराग्लाइडिङको अन्तर्र्रािष्ट्रय खेल अभ्यासमा नेपाली सेनाले उदाहरणिय कार्य गरेको संयोजक भट्टराईले बताए । नेपाली सेनाले खेलाडीका उडानका सम्पुर्ण सामाग्रीहरु समेत सराङकोट ल्याउन लैजान सहयोग गरिरहेको छ ।

प्रतियोगितामा खेलाडीहरुको उडान भईरहेको बेला सबै जानकारी लिन ‘लाइभ ट्रयाकर’ यन्त्रको समेत प्रयोग गरिएको छ । नेपालमा प्याराग्लाइडिङ प्रतियोगितामा ‘लाइभ ट्रयाकर’ प्रयोग पहिलो पटक गरिएको हो । ‘लाइभ ट्रयाकर’को ‘चिप’ प्रत्येक खेलाडी संग रहने र कुन खेलाडी वा पाइलट कता उडान गर्दैछ भन्ने सम्पुर्ण दृष्य समेत सोझै मोनिटर बाट हेर्न सकिन्छ । यसका कारण प्याराग्लाइडिङलाई सुरक्षित संगै नतिजा प्राप्त गर्न निकै सहज हुने अध्यक्ष भण्डारीले बताए ।

