
पोखरा स्पोर्टस । नेपाली फुटबलको छाता संस्था अखिल नेपाल फुटबल संघ (एन्फा)को विवाद बारे राष्ट्रिय खेलकुद परिषद (राखेप)ले छानविन शुरु गरेको छ ।
राखेपले एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा सहित तिन जना संग विवाद बारे बयान लिएर छानविन शुरु गरेको हो । राखेपले राखेप सदस्य पुरेन्द्र विक्रम लाखेको संयोजकत्वमा गठन गरेको सात सदस्यिय छानविन टोलीले बयान लिएर छानविन शुरु गरेको राखेप सदस्य तथा छानविन समितीकी प्रचार संयोजक सुवर्ण श्रेष्ठले पोखरा स्पोर्टस लाई जानकारी दिइन ।
अध्यक्ष शेर्पा सहित प्रवक्ता किरण राई र मुख्य प्रशिक्षक अरुणा गुरुङ संग बयान लिएको बताउँदै राखेप सदस्य श्रेष्ठले बुधवार समेत बयानको क्रम जारी रहने बताइन । उनले भनिन–“आज हामीले तिन जना संग बयान लिएका छौं भोली वुधबार चार जना संग लिंदै छौं ।” भोली को को संग बयान लिंदै हुनुहुन्छ भन्ने प्रश्न राखेप सदस्य श्रेष्ठले नाम भने सार्वजनिक गर्न नमिल्ने बताइन । “अहिले हामी छानविनको क्रममा नै छौं आवश्यक्ता अनुसार विहिबार सम्म बयानको क्रम जारी रहनेछ, हामी पुरुष टिमका प्रशिक्षक अलमुताइरी लाई पनि बयानका लागि बोलाउँदै छौं,” उनले भनिन ।
बयानको क्रममा नयाँ कुराहरु आएमा छानविन लम्विन सक्ने छानविन टोलीकी सदस्य श्रेष्ठले बताएकी छन । “आज पनि केही नयाँ कुराहरु आएका छन, हामी प्रतिवेदनमा सबै खुलाउने छौं, भोली र पर्सी पनि केही नयाँ कुराहरु आउन सक्छन त्यसैले पनि छानविन लम्विन सक्छ अहिले नै सवै कुरा भन्न सकिन्न,” उनले भनिन । छानविन टोलीले १३ जना संग बयान लिने भएको छ ।
एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ र प्रशिक्षक अलमुताइरीका विच भएको मनमुटाव एन्फामा विवाद चुलिएको थियो । विवाद समाधान नहुँदा एन्फाले यूवा तथा खेलकुद मन्त्रालयमा छानविनका लागि आग्रह गरेको थियो । तर मन्त्रालयले राखेपलाई छानविनका लागि पत्रचार गरे पछि मंगलवार बाट छानविनलाई अघि बढाएको हो । राखेपले छानविन टोलीलाई लागि एक साताको समय दिएको छ ।
