
पोखरा, १६ फागुन ।
त्रिभुवन क्लबको नेपाल आर्मीले विदेशी पाहुना टोली क्यामरुनको दाउफिन्स फेमेली क्लबलाई पोखरामा जारी १७ औं आहा रारा गोल्डकपको अन्तिम सेमीफाइनलमा १–० हो हार चखाउँदै फाइनलमा थ्रि स्टार संग भिडन्त पक्का गरेको छ ।
संस्कृती, पर्यटन तथा नगारिक उडययन मन्त्रि रबिन्द्र अधिकारीको बुधबार हेलिकप्टर दुर्घटनामा मृत्यु भएको खबरले पोखरेली खेलप्रेमीहरु स्तव्ध बने संगै भएको खेलमा सबै खेलाडीले हातमा कालो पट्टी बाँधेर शोक प्रकट गर्दै खेल मैदानमा उत्रिएका थिए । खेल शुरु हुनु पूर्व एक मिनेट मौन धारण गरिएको थियो ।

खेलको सुरुवातमानै नेपाल आर्मीले दाउफिन्सलाई दवाबमा राखेको थियो । खेलको १३ औं मिनेटमा पावर र फिजिकल एटेकमा माहिर दाउफिन्स विरुद्ध सेनाका टेक बहादुर बुढाथोकीले गोल गर्दै टिमलाई अग्रता संगै त्यही गोल जितको लागि काफी बन्यो । मैदानको राइट विङ बाट खेलका म्यान अफ दि म्याद रहेका दिपक गुरुङले गरेको क्रसलाई डि बक्स भित्रै रहेका बस्नेतले गोलको दिशा देखाए ।
तिन दिन देखिको प्रतिकुल मौसमले हिलाम्य रहेको मैदानमा आर्मीले उत्कृष्ट खेल पर्दशन गर्दै पटक पटक गोल गर्ने अवसर जुरायो । खेलको ३५ औं मिनेटमा भरत खवासको प्रहारलाई दाउफिन्सका किपर प्रिसोले मुस्किलले जोगाए । डि बक्स भित्रै नविन श्रेष्ठले ब्याक पास दिएर अनन्त तामाङलाई गोल गर्ने अवसर दिलाए पनि डिफेन्सलाई विट गर्दै खवासलाई गोल गर्न बल मिलाए । तर खवासको प्रहार लाई किपरले पन्च गर्दै जोगाए ।

खेलको दोश्रो हाफको ६१ औं मिनेटमा नवयूग श्रेष्ठको प्रहारलाई लाई डिफेन्स एडेल्फेको खुट्टामा लाग्दै बाहिरियो भने ७४ औ मिनेटमा भरत खवास एक्लैले डिफेन्स लाई विट गर्दै पाएको अवसर पनि खेल फाले । उनको प्रहार किपर प्रिसोको खुट्टामा लागेर बाहिरियो ।
यता मनकामना कप लगाएत अन्य गोल्डकप जितेर हौसिएको दाउफिन्स खेल जितेर फाइनल पुग्ने दाउमा मैदान प्रवेश गरेको थियो । पटक पटक गोल गर्ने अवसरहरुलाई सेनाका डिफेन्सले निस्तेज पारे । यति सम्मकी फिजिकल गेमका कारण रेफ्रि सुदिश कुमार पाण्डेले उसको भरपर्दा स्ट्राइकर एन्देम्बा ओवनालाई ८५ औं मिनेटमा रातो कार्ड देखाउँदै मैदान बाहिर पठाए । निर्धारित समय सम्मको खेलमा दाउफिन्सका ६ जना खेलाडीले एलो कार्डको सामना गर्नु प¥यो । ओवनाले पनि ३६ र ८५ मिनेटमा दुई वटा एलो कार्डको सामना गर्दा मैदान छोड्नु परेको थियो ।
आहा राराको तिन पटकको उपविजेता रहेको नेपाल आर्मीका प्रशिक्षक नविन न्यौपानेले जित पछि प्रसन्नता व्यक्त आफूहरु चौथो पटक १७ औं आहा राराको उपाधीका लागि पोखरा रंगशालामा भिडन्तमा उत्रने बताए । यस अधि विशाल मेमोरियलको फाइनलमा थ्रि स्टार संगको भिडन्तमा उपविजेता र इटहरीमा क्वाटरफाइनलमा विजेता रहेको बताउँदै प्रशिक्षक नविनले उपाधी जित्नका लागि टिम तयार रहेको बताए ।
