राष्ट्रिय हक्कीः आर्मी, गण्डकी, सुदूरपश्चिम र प्रदेश ५ सेमीफाइनलमा

पोखरा, दोस्रो गिरिजाप्रसाद कोइराला स्मृति पुरुष राष्ट्रिय हक्की प्रतियोगिताअन्तर्गत बुधबार पहिलो चरणका खेल सम्पन्न भएको छ । अंक तालिकाका आधारमा नेपाल आर्मी, गण्डकी, सुदूरपश्चिम र प्रदेश ५ विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

नेपाल हक्की संघले विराटनगरस्थित सहिद रंगशालामा आयोजना गरेको प्रतियोगिताअन्तर्गत बुधबारको पहिलो खेलमा विभागीय टोली नेपाल आर्मीका रोमन रानाको ह्याट्रिक गोल मद्दतले बाग्मती प्रदेशलाई ३–० गोल अन्तरमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । रोमनले खेलको १२, ३८ र ५४ औं मिनेटमा गरेका थिए भने खेलको म्यान अफ द म्याच रोमन राना भए ।

त्यसैगरी दोस्रो खेलमा गण्डकी प्रदेशले प्रदेश २ लाई ६–० को फराकिलो गोल अन्तरमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । सुमितकुमार कामीको चार गोल मद्दतले गण्डकी प्रदेशलाई सेमिफाइनलको यात्रा सहज भएको हो । खेलको २९ औं मिनेटमा सागर आचार्यले गोल गरेको थिए भने ३८, ४०, ५० र ५७ औं मिनेटमा सुमितकुमार कामीले गोल गर्दै जितलाई फराकिलो बनाए । खेलको म्यान अफ द म्याच सुमित भए ।

त्यस्तै तेस्रो खेलमा सुदूरपश्चिम प्रदेशले प्रदेश १ लाई ५–१ गोल अन्तरमा पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ । खेलको १० औं मिनेटमा प्रदेश १ का अनिष मगरले गोल गरेका थिए । २८ औं मिनेटमा सुदूरपश्चिमका कान्तुराम पनेरुले गोल गरे । ३६ औं मिनेटमा दीपकराज जोशीले गोल गरेभने ४८ औं मिनेटमा केशवराज जोशीले गोल गरे । ४९ र ५५ औं मिनेटमा म्यान अफ द म्याच अमित ओझा गोल गरे ।

प्रतियोगितामा एक विभागीयसहित ६ प्रदेशको सहभागिता रहेको छ । विभागीय टोली नेपाल आर्मी, सुदूरपश्चिम प्रदेश, बाग्मती प्रदेश, प्रदेश १, गण्डकी प्रदेश, प्रदेश ५ र प्रदेश २ ले प्रतियोगितामा भाग लिएका छन् ।

प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ, उपविजेताले नगद २५ हजार रुपैयाँ र तेस्रोले नगद १५ हजार रुपैयाँका साथै ट्रफी जित्ने छन् । त्यस्तै व्यक्तिगत पुरस्कारतर्फ उदयीमान खेलाडी, सर्वाधिकगोलकर्ता, उत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट खेलाडीले जनही नगद ५ हजार पाउने छन् ।

प्रतियोगिताअन्तर्गत बिहीबार हुने सेमिफाइनलको पहिलो खेलमा नेपाल आर्मी र प्रदेश ५ तथा दोस्रो खेल गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close