
पोखरा । नेपाल ओलोम्पिक कमिटीका अध्यक्ष तथा प्रतिनिधी सभा सदस्य जिवनराम श्रेष्ठले पोखरा म्याराथनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा राम्रो सन्देश प्रवाह गरेको बताएका छन ।
यहि फागुन ३ गते पोखरामा आयोजना हुने ‘पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०२०’ लाई सफल बनाउन पोखराका विभिन्न संघ, संस्था तथा सांसदहरुका विच आयोजित भेटघाट कार्यक्रममा अध्यक्ष श्रेष्ठले उक्त कुरा बताएका हुन । राज्यलाई संमृद्धितर्फ लैजान खेलकुदको आवश्यकता रहेको बताउँदै पोखरा म्याराथन खेलकुद पर्यटनसँग पनि जोडिएकोले अन्तर्राष्ट्रिय स्तरमा राम्रो सन्देश प्रवाह गरेको उनले बताए ।
विश्वभर म्याराथनको महत्व बढिरहेको अवस्थामा राष्ट्रले गर्व गर्ने लायक खेलकुदको ईभेन्ट पोखरामा हुनु सुखद रहेको बताउँदै अध्यक्ष श्रेष्ठले भने–“म्याराथन खेलकुद क्षेत्रको मात्र हो भन्ने सोचाई हटाउदै सबै क्षेत्रका व्यक्तिलाई अपनत्व महसुस गराउन सक्नुपर्छ ।”
त्यसैगरि अन्तरक्रियामा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाले पोखराको खेलकुद क्षेत्रलाई माथी उठाउन आफु सधै लागिपरेको बताए ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सासंद तथा अर्थ विकास समितीका सभापती दिपक कोइरालाले पोखरा म्याराथन गौरबको विषय भएको बताए । उनले विशेष गरि खेलाडीको सुरक्षा र विमा लगाएतका विषयमा ध्यान दिएमा प्रतियोगितामा सकारात्मक प्रभाव पर्ने बताए ।
गण्डकी प्रदेशका सासंद राजिव पहारीले पोखरा म्याराथन गौरव विष्य भएकोले यसको सफलताका लागि आफूले सदनमानै कुरा उठाउने र प्रदेशका सबै सांसदलाई यसमा चासो दिन आफूले आग्रह गर्ने धारणा राखे ।
समाजसेवी मेजर डम्वर घले एम भि ओले समाजलाई माथी उठाउन यस्ता खेलकुद आयोजनाले सकारात्मक सन्देश दिने बताउँदै पोखरा म्याराथन सफल बनाउन सबै संग आग्रह गरे ।
कार्यक्रममा तमु धिं यूकेका संस्थापक अध्यक्ष मिन गुरुङ सिक्लेसी लगाएतले आ–आफ्ना धारणा राखेका थिए ।
अन्तरक्रियामा मञ्चका अध्यक्ष तेज गुरुङले पोखरा अन्तर्राष्ट्रिय म्याराथनको विगतका गतिविधि र अव हुने म्याराथनका बारेमा प्रकाश पारेका थिए । शान्ति र स्वास्थ्यका लागि खेलकुद भन्दै पर्यटन प्रवद्र्धनमा ठुलो भुमिका पोखरा म्याराथनले खेलिरहेको उनको तर्क थियो । यसपालिको म्याराथनको विश्व शान्ति सद्भाव दौडमा सहभागि हुन युनेष्कोका पूर्व अध्यक्ष डेभिड्सन लिन्कोनसहितको टोली आउने उनले जानकारी दिए ।
१४ औं सस्करणको पोखरा म्याराथनमा ‘वर्ल्ड पिस रन’ का धेरै सदस्यहरुले पोखरा म्याराथनलाई शान्तीका लागि दौडका रुपमा उपयोग गर्ने आयोजकले बताएको छ । यस अभियानका लागि १३ देशका २७ भन्दा वढीको सहभागिता रहने अन्तरक्रियामा बताईयो ।
पोखरालाई म्याराथन शहरको रुपमा विश्वमा परिचित गराउन तथा विदेशी धावकहरुलाई आकर्षित गर्न पुरुस्कारको राशीमा वृद्धी गरिएको छ । जसमा यस पटक ४२.१९५ किमीको पोखरा म्याराथनमा प्रथम हुनेलाई २ लाख नगद प्रदान गर्ने जनाएको छ । त्यसै गरि दोश्रो र तेश्रो हुनेलाई क्रमश नगद १ लाख र ७५ हजार प्रदान गरिने छ भने भने चौथो हुनेलाई नगद १५ हजार प्रदान गरिने छ ।
प्रथम हुनेलाई भुतपुर्व खेलाडी मञ्चको अन्तर्राष्ट्रिय सहयोगी संस्था पोखरेली मञ्च यूकेले यहि अप्रिल २०२० मा हुने बेलायतको कुनै एक म्याराथनमा सहभागि गराउने समेत घोषणा गरेको छ ।
पोखरा म्याराथन १० किलोमिटर महिला–पुरुष, ५ किलोमिटर छात्र–छात्रा, ह्विल चियर र दृष्टीविहिनका लागि दौडलाई निरन्तरता दिइएकोछ । १० किलोमिटर तर्फको दौडमा प्रथम, द्वितिय र तृतिय हुनेलाई क्रमश नगद १५, १० र ५ हजार र ५ किलोमिटर तर्फ १०, ५ र ४ हजार प्रदान गरिनेछ । महिला–पुरुष ह्विल चियर र दृष्टीविहिन दौडका लागि समेत ५, ३ र २ हजार प्रदान गरिने मंचले जनाएको छ । पोखरा म्याराथनमा कूल २८ जना धावकहरुलाई पुरस्कृत गरिने छ ।
मंचले यस पटक प्रविधिलाई उपयोग गर्दै खेलाडी दर्ता समेत अनलाइनबाट गर्ने जनाएको छ । पोखरा म्याराथनको www.pokharamarathon.org अनलाइन र मोवाइल एप्स बाट समेत खेलाडीले सहभागिताका लागि नाम दर्ता गर्न सक्नेछन् ।

