
पोखरा,५ चैत । कास्की जिल्लाको रुपा गाउँपालिका वडा नं। ६ मोहोरीयास्थित सिद्धार्थ स्मृति भलिवल मैदानको स्तरोन्नति गरिने भएको छ ।
भलिवलका वर्तमान राष्ट्रिय टिम क्याप्टेन इमबहादुर रानामगरलाई भलिवलका क्षेत्रमा यस अवस्थासम्म ल्याई पु¥याउन महत्वपूर्ण योगदान गरेको यस खेलमैदानको स्तरोन्नतिका लागि रुपा गाउँपालिकाको पाँच लाख रुपैया छुट्याएको छ ।

जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष बैन बहादुर क्षेत्री अधिकारीले उक्त निर्माण कार्यको शुभारम्भ गर्दै खेलको माध्यमबाट पर्यटनको विकासका साथै समृद्धीसँग जोडिनु पर्ने आवश्यकता औंल्याए । रुपा गाउँपालिकाको प्रशासनिक भवन र वडा कार्यालयहरू स्थापनाका लागि समन्वय समितिको कोषबाट चार करोड रुपैयाँ विनियोजन गरेको उनले जानकारी दिए ।
गाउँपालिकाका अध्यक्ष नवराज ओझाले पालिकाका अन्तर्गत एक वडा एक खेलमैदान निर्माण कार्य तिब्ररुपमा भई रहेको उल्लेख गर्दै खेलमैदान निर्माण गर्न ३५ लाख रुपैया विनियोजन गरिएको बताए ।
खेलमैदान उपभोक्ता समितिका अध्यक्ष सन्दीप गुरुङका अनुसार ग्रामीण क्षेत्रको महत्वपूर्ण एवम् लोकप्रिय खेल भलिवल खेलको विकासको लागि भौतिक पूर्वाधारको खाँचो भएको बताए । गाउँपालिकाका केन्द्रमा रहेको सो भलिवल खेल मैदान फराकीलो वनाउने कार्य भई रहेको सिद्धार्थ क्लवका अध्यक्ष जीवबहादुर थापाले जानकारी दिए ।
