
पोखरा, स्याङजा पुतलीबजार नगर पालिका वडा नं ९ स्थित कोल्मा बहाकोटमा यहि माघ २५ गते हुने दोश्रो कोल्मा क्रस कन्ट्री दौडको तयारी अन्तिम अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।
नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै “स्वास्थ्यका दौड, राष्ट्रका लागि दौड” भन्ने उद्घोषका साथ हुन लागेको उक्त क्रस कन्ट्रीमा करिव २ सय जनाको सहभागिता रहने आयोजक समितीका अध्यक्ष जित गुरुङले जानकारी दिएका छन ।
“यो वर्ष निकै उत्साहपूर्ण सहभागिता हुने हामीले पाएका छौं” अध्यक्ष गुरुङले भने–“धावकहरुको संख्या गत वर्ष भन्दा ह्वात्तै बढने भएको छ ।” उनको भनाई अनुसार गत वर्ष १४९ जनाको सहभागिता रहेको क्रस कन्ट्रीमा यस वर्ष २ सयको हाराहारीमा पुग्ने देखिएको छ । “धेरै जिल्लाका धावकहरु सहभागीताका लागि सूचना पाएका छौं” उनले थपे–“यो वर्ष निकै उत्साहवर्धक सहभागिता रहने छ ।”
क्रस कन्ट्रीका लागि सबै वडा र टोलहरुमा भेलाहरु सम्पन्न गरिएको अध्यक्ष गुरुङले जनाए । उनले सवै वडा र टोलवाशीहरु जनसमुदायहरु समेत उत्साहपूर्वक माघ २५ गतेको दिनलाई पर्खिरहेको उनले बताए । उनले कोल्मा आउनेहरुलाई बस्नका लागि विभिन्न स्थानमा होम स्टेको समेत समूचित प्रवन्ध गरिएको बताए । होम स्टेका लागि चिरुवा, बराहचौर, ताल्कु र पोखरीछाप लगाएतका स्थानमा करिब २०० जनालाई सुविधाजनक रुपमा राख्न सकिने गरि व्यवस्था गरिएको उनले जानकारी दिए ।
क्रस कन्ट्री दौड पुतली बजार नगर पालिका २ बाट सुरु भएर पुतलीबजार वडा नं ९ कोल्मा वराहचौरमा पुगेर सम्पन्न हुनेछ । ३१ किलो मिटर खुल्ला पुरुष र १४ किलोमिटर पुरुष गरी दुई विद्यामा सञ्चालन हुने उक्त प्रतियोगितामा काहुले, डाँडा स्वारा, नाम्चे, काल्खु, तनहुको शुक्ला गण्डकी नगरपालिका ११ बिसाउना, विरुवा गाउपालिकाको खुदी, मड्किना हुदै कोल्मा बराहचौरमा पुग्नेछ ।
प्रतियोगितामा खुल्ला पुरुषतर्फ प्रमथ हुनेले नगद ५० हजार, मेडल र प्रमाण पत्र, द्धितिय हुनेले नगद ४० हजार, मेडल र प्रमाण पत्र र तृतीय हुनेले नगद ३० हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछनभने २१ बर्ष मुनिका पुरुष १४ किलोमिटर दौडतर्फ प्रथम, द्वितिय र तृतिय हुनेले क्रमश नगद २० हजार, १५ हजार र १० हजार, मेडल र प्रमाणपत्र प्राप्तगर्नेछन । प्रतियोगितामा १० औ स्थान सम्म आउने प्रतियोगीहरुलाई मेडल र प्रमाण पत्रले सम्मान गरिनेछ ।
उक्त कार्यक्रममा एनआरएन युके र विदेशमा रहेका कोल्मा बहाकोट चारथुम बासी, स्थानिय संघ सस्था, युवा क्लव, आमा समुह, स्थानीय सरकार, स्वयंसेवक एवं सुरक्षाकर्मीको विशेष सहयोग रहने छ ।
के भन्छन एलविजेड गुरुङ
कोल्मा बहाकोट क्रस कन्ट्री दौडको परिकल्पनाकार एलबिजेड गुरुङ यो दौड स्वदेश तथा विदेशमा रहनेहरुलाई गाउँ संग मन जोड्ने एक उपयूक्त माध्यम भएको बताउँछन ।
स्याङजा कोल्माका उनी हाल गैर आवाशिय नेपाली संघ बेलायत राज्य समितीका उपाध्यक्ष समेत हुन । “हामी वर्षौ भरि विदेशमा हुन्छौं तर वर्षको एक पटक गाउँ फर्कने र गाउँलेहरु संग मन साटने मात्रै नभई गाउँको बिकासमा योगदान दिने पनि हो” उनी भन्छन–“कोल्माको क्रस कन्ट्रिले सबैका लागि त्यो बाटो तय गरेको छ ।”
नेपाली समाज लाहुर अर्थात विदेश जाने वा शहर पस्ने मानशिकताले जरो गाडेकोले गाउँ रित्तिदैं जानुले पनि गाउँको विकास अघि वढ्न नसकेको उनको तर्क छ । वर्षको एक पटक कुनै कार्यक्रम भएमा सबै गाउँ फर्कने माध्यम बन्न सक्ने उनी बताउँछन ।
फायल तस्विर
