
पोखरा, पोखरामा यहि फागुन ११ देखि १७ गते सम्म आयोजना हुने “प्याराग्लाईडिङ वर्ल्ड कप एशियन टुर–२०२०” तथा “१९ औं नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनशिप“ को तयारी शुरु भएको छ ।
नेपाल हवाई खेलकुद संस्था (ना) तथा नेपाल प्याराग्लाईडिङ तथा ह्याङग्लाईडिङ संघ (नेफा)ले संयूक्त रुपमा आयोजना गर्ने उक्त प्रतियोगितामा नेपाल सहित ३० देशका १२५ खेलाडीको सहभागिता रहने नेफाका महासचिब तथा प्रतियोगिता प्रचार प्रसार समितीका संयोजक शैलेन्द्र राउतले जानकारी दिएका छन ।
प्रतियोगितामा नेपाल सहित फ्रान्स, बेल्जियम, रसिया, काजकास्थान, अमेरिका, जापान, दक्षिण कोरिया, ईण्डोनेसिया, चिन, ईरान, स्विजरल्याण्ड, भारत, बंगालदेश, भियतनाम, जर्मनी लगाएत ३० देशका खेलाडीको सहभागिता रहने प्रतियोगिताका संयोजक एवम ना का निर्वतमान अध्यक्ष योगेश भट्टराईले बताए ।
नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै आयोजना हुन लागेको यो प्रतियोगिता भने विशेष रहेको छ । एशियन अन्तरगत एफएआईले एशियन प्याराग्लाइडिङ वर्ल्ड कप एशोसियसनको मातहातमा रहि सन २०२० का लागि नेपाल, चिन र इण्डोनेशियामा गरि तिन वटा टुरहरु आयोजना हुनेछन । यो प्रतियोगिताको मुख्य उद्धेश्य एशियाका प्याराग्लाइडिङ खेलाडीलाई विश्वकपको सूपर फाइनलमा सोझै प्रवेश दिनका लागि गरिएको कम्पिटिसन म्यानेजर विमल अधिकारीले बताए ।
प्रतियोगिता सम्पन्न गर्न ना का निवर्तमान अध्यक्ष योगेश भट्टराईको संयोजकत्वमा २३ सदस्यिय आयोजक समिती र ४ सदस्यिय सल्लाहकार समिती चयन गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न ८० लाख खर्च लाग्ने आयोजक समितीले जनाएको छ ।
