
पोखरा, कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकको अर्मलालाई शाहसिक खेलकुद प्याराग्लाइडिङको गन्तव्य बन्ने भएको छ ।
पोखरादेखी २० किलोमिटरको दूरीमा दुई हजार ४०० मिटर उचाईमा अवस्थित अर्मलाबाट साहसिक खेल प्याराग्लाइडिङको परीक्षण उडान सफलभएसँगै यसलाई व्यावसायिक गन्तव्यको रुपमा विकास गर्न गाउँपालिका तथा स्थानीयबासी लागि परेका हुन । पोखरामा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थल निर्माण सम्पन्न भएसँगै हाल व्यावसायिक रुपमा सराङ्कोटबाट हुँदै आएको प्याराग्लाइडिङ उडान हुने नहुने बारे दुविधा बढ्दै गएको बेला अर्मला उपयुक्त विकल्प बन्ने देखिएको छ ।
सराङकोटबाट उडेका ग्लाईडर अर्मलामा अवतरण गरेर पुनः त्यहाबाट उडान भर्ने गरेका छन् । तर अहिले अर्मला डाँडाँबाटनै उडान शुरु गरेर तल बस्तीमा अवतरणका लागि परीक्षण उडान सफल भएसँगै यस ठाउँको प्रवर्धन मार्फत प्याराग्लाइडिङ गन्तव्य बनाउने योजना गाउँपालिकाको बनाएको छ ।
उक्त स्थानलाई प्याराग्लाइडिङको गन्तव्यको रुपमा बिकास गर्न गाउँपालिकाले अर्मलासम्म पुग्ने सडक निर्माण गरेको छ । बस्तीबाट तीन किमी उकालो चढेर पुगिने अर्मलासम्म सडक सूविधा पुगेकाले यसलाई गन्तव्य बनाउन थप सहज हुने विश्वास गरिएको छ । गाउँपालिकाले अर्मलालाई पर्यटनको गन्तव्य बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरण, सङ्घ तथा प्रदेश सरकारसँग समेत अनुरोध गरेको छ ।
पोखरा नजिकै अवस्थित सो क्षेत्रमा व्यावसायिक उडानको व्यवस्था भएसँगै पर्यटन आवागमनमा वृद्धि हुने र सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षलाई समेत सघाउने विश्वास समेत लिइएको छ । विमानस्थल बनेपछि स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख रोजाइ रहेको प्याराग्लाइङिलाई निरन्तरता दिनका लागि समेत अर्मलाको विकल्प नरहेको भनाई गाउँपालिकाको छ । अर्मलाबाट उडान भर्नुभएका प्याराग्लाइडिङ पाइलट विजय गौतमले यहाँबाट सराङकोट भन्दा पनि तुलनात्मक रुपमा उडानका लागि सहज र अनुकूल रहेको बताए ।
हावाको चाप समेत अनुकूल रहेको बताउँदै हिमऋङ्खला, वनजङ्गल तथा सुन्दर गाउँहरु र पोखरा शहरको दृश्यावलोकन गर्न सकिने भएकाले यसको भविष्य सुन्दर रहेको पाइलट गौतमले बताए । “प्याराग्लाइडिङ उडानका लागि जति हुनुपर्ने हो सबै हिसावले उपयुक्त छ । यहाँ हावाको चाप राम्रो छ । केही स्लोप मिलाउन बाँकी छ ,त्यसपछि यहाँ उडान अवतरण सबै हिसाबले उपयुक्त छ” गौतमले भने ।
गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडीले अर्मलाडाँडालाई प्याराग्लाइडिङकै रुपमा विकास गर्ने उद्धेश्यले सडक सूविधा पु¥याइएको जानकारी दिइन । वडाको बजेट रु १० लाख तथा स्थानीयको रु १५ लाख गरी रु २५ लाख लागतमा गाउँदेखी डाँडासम्म सडकको ट्रयाक खोलिएको उनले बताइन । पोखरा बाग्लुङ राजमार्गको मिलनचोकदेखी गाउँपालिकासम्मको सडक स्तरोन्नती गरी कालोपत्रे शुरु भएकाले समेत स्वदेशी तथा विदेशी पर्यटकहरुका लागि सहज हुने उनको भनाइ थियो ।
“गाउँपालिकाको कोलेली र अर्मलामा प्याराग्लाइडिङको असाध्यै धेरै सम्भावना छ । प्याराग्लाइडिङसँगसँगै अर्मलामा रहेको प्रशिद्ध देउराली मन्दिरको प्रवर्धन तथा प्रचारप्रसार गरी धार्मिक पर्यटक समेत भित्राउने योजना छ ।” दवाडीले सुनाइन । लाहाचोकमा हालै सम्पन्न भएको गण्डकी प्रदेशस्तरीय फुटबल प्रतियोगिताको उद्घाटन समेत प्याराग्लाइडिङबाट बल खसालेर गरिएको थियो । अर्मलाबाट उडेका प्याराग्लाइडिङले प्रतियोगितास्थलमा बल खसालेर अवतरण गरेका थिए ।
अर्मलामा व्यावसायिक प्याराग्लाइडिङ सम्भव छ भन्ने प्रचारका लागिनै सयौँको उपस्थितिमा भएको उद्घाटन कार्यक्रम प्याराग्लाइडिङबाट बल खसाल्दै मैदानमा अवतरण गरिएको वडाध्यक्ष पूर्णबहादुर शाहीले बताए । “अर्मलालाई प्याराग्लाइडिङको गन्तव्य बनाएर भ्रमण वर्ष सफल बनाउने हाम्रो लक्ष्य छ । यसका लागि सङ्घ र प्रदेशसरकारसँग अनुरोध गरेका छौँ।” वडाध्यक्ष शाहीले भने । अर्मलाबाट उडान भरेर मर्दीखोलाको किनार समीबगरमा अवतरण गराउने योजना रहेको बताइन्छ ।
