पाँचौ एनभिए राष्ट्रिय भलिबलः महिलाको सेमिफाईनल समिकरण पुरा

पोखरा, नेपाल भलिबल संघको आयोजनामा पाँचौ आरबिबी एनभिए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०२० को महिला तर्फको सेमिफाईनल समिकरण पुरा भएको छ ।

मंगलबार सम्पन्न ग्रुप ‘ए’ मा दुई विभागिय टोली विचको प्रतिस्पर्धामा एपिएफ सेनाको टिएसी माथि ३–१ को जित निकाल्दै समूह बिजेता बन्न सफल भयो । एपिएफले टिएसीलाई २५–१०, १९–२५, २५–१८, २५–११ अंकले पराजित गरेको हो । दुवै टिम यस अघिनै सेमिफाईनल प्रवेश गरिसकेका थिए ।

महिलाकै समूह बीको प्रतिस्पर्धामा होङ्गवान्जी न्यू डायमण्ड स्पोर्टस् क्लब र ढोरपाटन स्पोर्टस् क्लब विचको खेलमा न्यू डायमण्डले जित निकाल्यो । न्यू डायमन्डले २५–३, २५–१६, २५–१२ को जित निकालेको हो । यसका साथै न्यू डायमण्ड समूह बिजेता बन्दै सेमिफाईनलमा सेना संगको भिडन्त पक्का ग¥यो ।

अव सेमिफाईनलमा एपिएफले समूह ‘बी’ को उपबिजेता अर्को बिभागिय टोली नेपाल पुलिस क्लब संग र टिएसीले समूह ‘बी’ को बिजेता होङ्गवान्जी न्यू डायमण्ड स्पोर्टस् क्लब संग फाईनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् ।

राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा संचालित प्रतियोगिताको पुरुष तर्फ लिगको अन्तिम खेलमा एपिएफ र पुलिस क्लबले जित निकालेका छन् । एपिएफले ग्रुप ‘बी’ मा जावलाखेल भलिबल ट्रेनिङ्ग सेन्टर (जेभिसी) लाई २५–१४, २५–१०, २५–०९ को सोझो सेटमा पराजित गर्दै ६ अंक सहित समूह बिजेता भयो । यस्तै पुलिसले पनि समूह ‘सी’ को खेलमा मणिमुकुन्द भलिबल क्लब (एमभिसी) लाई २५–१४, २५–२०, २५–१४ ले पराजित गर्दै समूह बिजेता बन्न सफल भयो ।

यसका साथै पुरुष तर्फ क्वाटरफाईनको समिकरण पुरा भएको छ । पुरुष तर्फ क्वाटरफाईनलमा समूह ‘ए’ को बिजेता सेनाको टिएसीले समूह ‘सी’ को उपबिजेता मणिमुकुन्द भलिबल क्लब संग प्रतिस्पर्धा गर्ने छ । यस्तै समूह ‘बी’ को बिजेता एपिएफले समूह ‘डी’ को उपबिजेता बुद्धटोल युवा भलिबल क्लब संग प्रतिस्पर्धा गर्ने छ । समूह ‘सी’ को बिजेता नेपाल पुलिस क्लबले समूह ‘ए’ को उपबिजेता नयाँबजार सामाजिक युवा क्लब संग तथा समूह ‘डी’ को बिजेता हेल्प नेपाल स्पोर्टस् क्लबले समूह बीको उपबिजेता बुलबुले रारा क्लबसंग प्रतिस्पर्धा गर्ने भएका छन् ।

भोली बुधबार पुरुष तर्फको क्वाटरफाईनलका खेलहरु हुने छन् । जसमा पहिलो खेल टिएसी र मणिमुकुन्द भलिबल क्लब, दोश्रो खेले एपिएफ र बुद्धटोल युवा भलिबल क्लब, तेश्रो खेल पुलिस क्लब र नयाँबजार सामाजिक युवा क्बल तथा चौथो खेल हेल्प नेपाल र बुलबुले रारा क्लबविच हुने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close