
केशव पाठक/पोखरा,
क्याप्टेन बिजय लामाले उडानका लागि पहिलो प्राथमिकता आफ्नो सुरक्षानै पहिलो प्राथमिकता भएको बताएका छन ।
नेपाल हवाई खेलकुद संस्था (ना) र प्याराग्लाइडिङ पाइलटहरुको संस्था नेपाल प्याराग्लाइडिङ पाइलट क्लब द्वारा संयुक्त रुपमा पोखरामा आयोजित “एभिएसन टक विथ क्या.विजय लामा” छलफल कार्यक्रममा उनले उक्त कुरा बताएका हुन ।

विगत ३६ वर्ष देखि विमान चलाउँदै आएका वरिष्ठ पाइलट क्या. लामाले आकाशको उडान जहिले पनि संवेदनसिल हुनाले सुरक्षानै महत्वपूर्ण हुने बताउँदै प्रश्न गरे–“यहाँहरु प्याराग्लाइडिङ पाइलट त हुनुहुन्छ के तपाँईहरु कत्तिको सुरक्षित उडान गर्दैछु भन्ने कुरा आफू तिर कहिल्यै फर्केर हेर्नुभएको छ ?” आफ्नो दैनिक उडान कतिको सुरक्षित छ ख्याल गर्न आग्रह गर्दै उनले थपे–“पाइलट आफै सुरक्षित छैन भने यात्रुको सुरक्षाको ‘ग्यारेन्टी’ के ?”
विश्वमा उडान सुरक्षाका लागि संधै नयाँ नयाँ नियमहरु आइरहेको उल्लेख गर्दै उडानका क्षेत्रमा लामो अनुभव संगालेका क्या. लामाले पोखरामा वन्न लागेको अन्तर्राष्ट्रिय विमानस्थलका बारेमा समेत टिप्पणी गरे । उनले भने–“पूर्व पश्चिम मार्ग बनाएर किन र कसरी विमानस्थल बनाइयो त्यो आफैमा हवाई उडानको हिसावले अत्यन्तै जोखिम समेत रहेको छ ।” उक्त अन्तर्राष्ट्रिय विमानस्थलका कारण पोखराको गौरवको रुपमा रहेको प्याराग्लाइडिङ उडान समेत संकट र जोखिम यूक्त हुने बताए ।

आफू कुनै वेला संगित हुँदै सिने कलाकार बाट पाइलट बनेको प्रसंग राख्दै क्या.लामाले आकाशमा उडान भर्नु संधै आफ्ना लागि मनोरंजन मात्रै नभई चुनौतीपूर्ण रहेको उल्लेख गरे । “सुरक्षित पाइलट तब हुन्छ जव उ आफ्नौ उडान भरेर आफ्नो परिवार संग पुग्छ” उनले भने–“पाइलटले असुरक्षित उडान गर्नु भनेको आफ्नो परिवारलाई समेत जोखिममा पार्नु हो ।” उडान भर्नु अघि आफ्नो उडान समाग्रीको राम्रो संग परिक्षण गर्नु, अनिवार्य विमा, आफ्नो स्वास्थको बारेमा सचेत हुनु पहिलो प्राथमिकता रहेको कुरा बताउँदै उनले प्याराग्लाइडिङ उडान मनोरंजनले भरिएको छ, यसलाई सुरक्षित, मर्यादित र व्यवसायिक बनाउन उत्तिकै आवश्यक रहने भनाई राखे ।
पाइलट क्लबका अध्यक्ष बिमल पहारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपालका पहिलो प्याराग्लाइडिङ पाइलट राजेश बमजनले समेत बोलेका थिए ।
कार्यक्रमलाई लाइफ इन नेपाल, नेपाल पर्यटन बोर्ड, भ्रमण वर्ष २०२०, नेपाल एक्रो टिम र नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघले सहयोग गरेका थिए । हाल पोखरामा करिब ३ सय ५० जना पाइलटहरु कार्यरत रहेका छन ।
तस्विरः अशोक बस्नेत
