
पोखरा, माछापुच्छ्रे गाउँपालिका–४, लाहाचोक स्थित माछापुच्छ्रे त्रिशक्ति युनाईटेड क्लवको आयोजनामा बुधवार देखि गण्डकी प्रदेश क्लव स्तरीय खुल्ला फुटबल प्रतियोगिता शुरु भएको छ ।
प्रतियोगिताको शुभारम्भ गर्दै युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले मन्त्रालयले सबै स्थानीय तहमा एक खेलमैदान बनाउने तयारी गरेको स्पष्ट पार्दै सोही अनुसार लाहाचोक खेलमैदानको स्तरउन्नती गरिने बताए । उनले स्तरउन्नतीका लागि यहि माघ महिना भित्रै ५० लाख विनियोजन गर्ने बचनवद्धता पनि जनाए ।

मन्त्री विश्वकर्माले माछापुच्छ्रे गाउँपालिकालाई प्रचुर पर्यटकीय क्षेत्रको संज्ञा दिंदै इतिहासमै पहिलोपटक कास्की क्षेत्र नं. ३ मा यसपटक घेरै योजना तथा बजेट परेको दावी पनि गरे ।
प्रदेशसभा सदस्य पुष्पा केसी भण्डारीले नेपालमा खेल व्यवसायको रुपमा विकास हुँदै जानु पछिल्लो समयको सकारात्मक पक्ष भएको औँल्याइन् । गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले खेललाई राष्ट्रिय स्तरमा मात्रै ध्यान नदिई स्थानीय स्तरमा पनि ध्यान दिनुपर्ने जनाए ।
प्रतियोगिताको मुख्य प्रायोजक भिजन लुम्बिनी प्रालिका अध्यक्ष जगतबहादुर पोखरेलले प्रालि युवालाई लगानीमा जोडी आर्थिक समृद्घिको बाटोमा लम्केको भनाई राखे । एन्फाका केन्द्रीय उपाध्यक्ष कृष्ण थापाले मैदानको स्तरउन्नतीमा जोड दिर्दै भिडावारीमा एन्फा एकेडेमीको चाँडै शिलान्यास हुने विश्वास जनाए ।
प्रतियोगिता अन्र्तगत आयोजक त्रिशक्ति युनाईटेड क्लवका र बाग्लुङ जिल्ला फुटवल संघ बीच भएको उद्घाटन खेल टाइबे्रकरमा ४–३ गोलअन्तरले आयोजकले जितेको छ । खेल अवधिभर १–१ को वरावरी भएपछि खेल टाइबेकरमा घकेलीएको थियो । आयोजक समूहको तर्फबाट विवेक सन्तोषी र म्यान अफ दी म्याच बन्न सफल संघका निशान थापाले निर्धारित समयमा १–१ गोल गरेका थिए ।
कार्यक्रमको अवसरमा लाहाचोकलाई नयाँ पर्यटकीय गन्तव्य बनाउने उद्देश्यका साथ स्थानीय अर्मला देउरालीबाट दुई प्याराग्लाइडिङ उडान भरी खेलमैदानमा अवतरण गराइएको थियो । जसको नेतृत्व प्याराग्लाइडिङ पाइलट राम गौतमले गरेको थिए । पाइलट विजय गौतम र अमन थापाले उडान भरेका थिए ।
पर्यटन वर्ष सन् २०२० लाई लक्षित गरी प्रतियोगिता आयोजना गरेको क्लवले जनाएको छ । कुल १२ समूहको सहभागिता रहेको उक्त प्रतियोगिताको विजेताले रु.१ लाख ५५ हजार पाँच सय ५५, उपविजेताले रु.७७ हजार सात सय ७७ साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।
बिहीवार पहिलो खेल विष्णुपादुका क्लव हेमजा र बौद्घ हिमालय क्लव गोरखा बीच विहान १० बजेदेखि हुने आयोजकले जनाएको छ ।
क्लव अध्यक्ष निरज शाहीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा वडाध्यक्ष पूर्णबहादुर शाहीले स्वागत साथै क्लव अनुशासन तथा व्यवस्थापन समितिका संयोजक पानबहादुर जिसीले संचालन गरेका थिए ।
