
पोखरा, नेपाल क्युकोसिन कान कराँते संघ कास्की शाखाको आयोजनामा “१९ औं माछापुच्छ्रे गण्डकी प्रदेश स्तरीय फुल कन्ट्याक्ट तथा प्रथम नेपाल क्योकुशिन–कान कराँते प्रतियोगिता २०७६” शुरु भएको छ ।
पोखरा रंगशालामा मंगलबार छनोट चरणका खेलहरु र फाइनल खेल बुधबार ढुंगेसाँघुमा हुन आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा गण्डकी प्रदेशका कास्की, स्याङ्जा, तनहुँ, बाग्लुङ, म्यादी लगायतका जिल्लाबाट १ सय ५० भन्दा खेलाडी सहभागी भएका छन् ।
प्रतियोगिताको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले स्वास्थ्यको लागि, राज्यको लागि र पदकको लागि खेल खेलिने बताए । उनले भने–“पोखरा जस्तो पर्यटकिए शहरका लागि तथा पर्यटनको विकासको लागि पनि खेलकुदको महत्वपुर्ण भूमिका रहेको छ ।”
प्रतियोगिता संयोजक दानबहादुर क्षेत्रीले १९ औं माछापुच्छ्रे गण्डकी प्रदेश स्तरीय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता एतिहासिक खेल भएको बताए । उनले यस्ता प्रतियोगिताले खेलाडीको स्तर, मनोबल बढाउने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा सहयोग गर्ने बताए ।
पुरुषतर्फ २५, ३० ३५, ४०, ४५, ५०, ५५ केजी मुनी र खुला तौल समूहमा प्रतियोगिता भएको छ । महिलातर्फ ४०, ४५, ५० र खुला तौल समूहमा तिप्रशप्रधा भएको छ । प्रतियोगिताको सेमिफाइनल र फाइनल खेलहरु बुधबार हुने नेपाल क्योकुशिन कान कराते संघ कास्कीका अध्यक्ष बेल बहादुर थापाले जानकारी दिए । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई सिल्ड, मेडल प्रमाणपत्र र खादाले सम्मान गरिने छ ।
प्रतियोगिता आयोजना गर्न ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताबाट २ लाख रुपैयाँ बचत अपेक्षा रहेको छ । बचत रकमबाट संघले खेलाडीलाई आवश्यक पर्ने म्याट, प्याड र ग्लोब किन्ने थापाले जानकारी दिए ।
नेपाल क्युकोसिन कान कराँते संघ कास्की अन्तर्गत पोखरा रंगशाला, पृथ्वीनारायण क्याम्पस, लेखनाथका रंगशाला, भण्डाढिक, गगनगौंडा, बागमारा प्रशिक्षण दिदै आएको कास्की जिल्ला प्रशिक्षक सुबास खड्काले जानकारी दिए ।
कास्की जिल्लामा संघमा मात्र हाल ३ सयभन्दा बढीले प्रशिक्षण लिदै आएको क्युकिशान–कान कराँते गण्डकीका प्रशिक्षक दिपक बहादुर गोदारले जानकारी दिए । कास्कीका खेलाडीले ८ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा ४ पदक जितेका थिए ।
