
पोखरा, नेपाल क्युकोसिन कान कराँते संघ कास्की शाखाको आयोजनामा “१९ औं माछापुच्छ्रे गण्डकी प्रदेश स्तरीय फुल कन्ट्याक्ट तथा प्रथम नेपाल क्योकुशिन कान प्रतियोगिता २०७६” यहि पुस २९ गते देखि हुने भएको छ ।
प्रतियोगिता पोखरा रंगशालामा पुस २९ गते र ढुंगेसाँघुमा माघ १ गते संचालन हुने आयोजकले जानकारी दिएकोछ । प्रतियोगितामा गण्डकी प्रदेशका १ सय ५० भन्दा बढी खेलाडी सहभागी हुनेछन् ।
प्रतियोगितामा पुरुषतर्फ २५, ३० ३५, ४०, ४५, ५०, ५५ र ६० केजी मुनी र खुला तौल समूहमा प्रतियोगिता हुनेछ । महिलातर्फ ३५, ४०, ४५, ५० र खुला तौल समूहमा प्रतियोगिता हुने संघका सल्लाहाकार तथा गण्डकी प्रदेश प्रमुख प्रशिक्षक दिपकबहादुर गोदारले जानकारी दिए ।
प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई शिल्ड, मेडल प्रमाणपत्र र खादाले सम्मान गर्ने प्रशिक्षक गोदारले बताए ।
प्रतियोगिता सम्पन्न गर्न ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताबाट २ लाख रुपैयाँ बचत अपेक्षा रहेको नेपाल क्योकुशिन कान कास्की शाखा अध्यक्ष बेलबहादुर थापाले जानकारी दिए । बचत रकमबाट संघले खेलाडीलाई आवश्यक पर्ने म्याट, प्याड र ग्लोब किन्ने थापाले बताए ।
क्यूकुशिनका खेलाडीले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा जापान, भियतनाम र युरोपमा विभिन्न देश प्रतियोगितामा सहभागी भएर पदक जितेको अनुभव रहेकोले यस पटकको प्रतियोगिता समेतले खेलाडीमा थप हौसला मिल्ने अध्यक्ष थापाले बताए ।
संघले अघिल्लो वर्ष गरेको १८ औं माछापुच्छ्रे गण्डकी प्रदेश स्तरीय फुल कन्ट्याक्ट प्रतियोगिता २०७५ मा ८० हजार रुपैयाँ बचत गरेको प्रतियोगिता संयोजक दान बहादुर क्षेत्रीले जानकारी दिए । संघले यो बचतबाट म्याट, प्याड लगायत खलाडीलाई आवश्यक पर्ने ५ लाख रुपैयाँ बराबरको सामान किनेको क्षेत्रीले बताए ।
प्रतियोगितालाई भव्य रुपले सम्पन्न गर्न संघले विभिन्न उपसमिति गठन गरेको छ । जस अनुसार अर्थ संकलन उपसमिति संयोजक सन्तोषकुमार श्रेष्ठ, निर्णायक, अफिसियल तथा खेल संयोजक निर्मल पहारी, यातयात तथा खाजा खाना व्यवस्थापन उपसमिति संयोजक निर्मलबहादुर केसी, स्वयंसेवक परिचालन उपसमिति संयोजक जीवनाथ लामिछाने, मञ्च तथा साउड सिस्टम व्यवस्थापन उपसमिति संयोजक सागर गिरी, अतिथि सत्कार तथा सांस्कृतिक उपसमिति संयोजक टुकदेवी पुन र पुरस्कार व्यवस्थापन उपसमिति संयोजकमा सुमन प्रतेल रहेका छन् ।
नेपाल क्युकोसिन कान कराँते संघ कास्की अन्तर्गत पोखरा रंगशाला, पृथ्वीनारायण क्याम्पस, लेखनाथका रंगशाला, भण्डाढिक, गगनगौंडा, बाघमारा प्रशिक्षण दिदै आएको कास्की जिल्ला प्रशिक्षक सुबास खड्काले जानकारी दिए । कास्की जिल्लामा संघमा मात्र हाल ३ सयभन्दा बढीले प्रशिक्षण लिदै आएको खड्काको भनाई छ । कास्की संघमा आवद्ध खेलाडीले ८ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा ४ वटा पदक जितेका थिए ।
