होङ्ग्वान्जी महिला राष्ट्रिय भलिबलः एपीएफ र न्यु डायमन्ड समूह विजेता

पोखरा, साविक विजेता विभागीय नेपाल एपीएफ क्लब र साविक उपविजेता तथा आयोजक न्यु डायमण्ड स्पोर्ट्स क्लब तेस्रो संस्करणको होङ्ग्वान्जी न्यु डायमण्ड खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा शुक्रबार भएको खेलमा समूह ‘बी’ मा न्यु डायमन्डले विभागीय नेपाल पुलिस क्लबलाई तथा समूह ‘ए’ मा एपीएफले अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै समूह विजेता बनेको हो । पराजित पुलिस र आर्मीले समूह उपविजेताको रुपमा अन्तिम चारमा पुग्न सफल भए ।

यससँगै तेस्रो संस्करणको होङ्ग्वान्जी न्यु डायमण्ड खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पनि पूरा भएको छ । शनिबार एपीएफ र नेपाल पुलिस क्लब तथा न्यु डायमन्ड र आर्मीबीच खेल हुनेछ ।

शुक्रबार निकै नै रोमाञ्चक बनेको समूह ‘बि’ को लिग चरणको अन्तिम खेलमा डायमन्डले पुलिसमाथि ३–२ को संघर्षपुर्ण जित निकाल्यो । डायमन्डले शुरुवाती दुई सेट आफ्नो पक्षमा पारेर जित नजिक पुगेपनि त्यसपछिको दुवै सेट गुमाउदा खेल २–२ सेटको बराबरीमा पुगेको थियो । डायमन्डले पहिलो र दोस्रो सेट २५–१९ र २५–२३ ले जितेपनि त्यसपछिको दुवै सेट १७–२५ र १६–२५ ले गुमाएको थियो । तर, निर्णायक सेटमा उच्च प्रदर्शन गर्दै १५–६ को जित निकाल्दै ३–२ को जित निकाल्यो ।

एपीएफले शुक्रबार दोहोरो जित निकाल्दै समूह ‘ए’ को विजेता बन्यो । पहिलो खेलमा पारामाउन्ट इंग्लिस बोर्डिङ स्कुललाई ३–० को सोझो सेटमा पराजित गरेको एपीएफले दोस्रो खेलमा पनि आर्मीलाई सोझो सेटमा पाखा लगायो । पारामाउन्टलाई २५–१८, २५–५ र २५–९ ले हराएको एपीएफले आर्मीलाई २५–२१,२५–१२ र २५–२१ ले पाखा लगायो । एपीएफ र आर्मीबीचको खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरिएपनि एपीएफले एकपक्षीय जित निकाल्यो ।

होङ्ग्वान्जी बौद्ध समाज नेपालको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेताले ४ लाख १ हजार १ रुपैयाँ , दोस्रो हुने टोलीले ३ लाख १ हजार १ सय रुपैयाँ प्राप्त गर्नेछ । तेस्रो हुनेले टोलीले १ लाख ५१ हजार १ सय १ रुपैया तथा चौथो हुनेले ५१ हजार १ सय १ रुपैयाँ प्राप्न गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २१ हजार १ सय १ रुपैया प्राप्त गर्नेछन् । व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकले जनही ७ हजार १ सय १ रुपैयाँ पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close