
पोखरा, अखिल नेपाल फुटबल संघ (एन्फा) को सहयोगमा पोखरामा गण्डकी प्रदेश स्तरिय फुटबल रेफ्री प्रशिक्षण शुरु भएको छ ।
कास्की जिल्ला फुटबल संघको आयोजनामा संचालन हुने उक्त प्रशिक्षणका लागि ४ जना फिफा रेफ्रीहरुले प्रशिक्षण दिने अध्यक्ष मिलन गुरुङले जानकारी दिए ।
सहभागीहरुलाई फिफा रेफ्रीहरु सुरेन्द्र शिखाकार, सुदेश कुमार पाण्डे, बसन्त रिजाल, किरण गिरीले रेफ्री सम्बन्धी शैद्धान्तिक र व्यवहारिक ज्ञान दिने अध्यक्ष गुरुङले बताए । सहभागिहरु एक साताको प्रशिक्षण उर्तिण गरेमा उनीहरुले रेफ्रीको प्रमाणपत्र समेत प्राप्त गर्नेछन ।

रेफ्रि प्रशिक्षणको उद्घाटन कार्यक्रममा बोल्दै खेलकुद पत्रकार मंच गण्डकीका अध्यक्ष एकराज गिरीले फुटबल खेलमा निर्णायकहरुको अहम भूमिका रहेकोले प्रशिक्षणले खेललाई थप परिस्कृत बनाउन सहयोग पुग्ने बताए ।
कार्यक्रममा फिफा रेफ्री तथा प्रशिक्षणका सहजकर्ता सुरेन्द्र शिखाकारले गण्डकी प्रदेशमा लागि रेफ्री उत्पादनका लागि यो पहिलो खुडकिलो भएको बताए । सहभागीहरुले प्रशिक्षणको उद्धेश्य र मर्मलाई बुझ्दै आफू फिफा रेफ्री हुन सक्छु भन्ने मनोवलका साथ अगाडी बढ्न उनले आग्रह गरे ।
सो अवसरमा एन्फा गण्डकी प्रदेशका अध्यक्ष धरम बहादुर लामिछाने, कास्की जिल्ला फुटबल संघका महासचिब रमेश कार्की लगाएतले बोलेका थिए । प्रशिक्षणमा गण्डकी प्रदेशका ८ जिल्लाका ४१ जना रेफ्रीहरु सहभागी रहेका छन ।
