
पोखरा, पोखरा रंगशाला भित्र पुनः निर्माण गरिएको बैकल्पिक फुटबल मैदानमा आज बाट दुवो रोप्न थालिएको छ । कोरोना कोभिड–१९ का कारण चैत ११ गते बाट सुरु भएको लकडाउन बाट निर्माण थालिएको बैकल्पिक फुटबल मैदानमा दुवो रोप्न थालिएको हो ।
निर्माण काममा जुटिरहेका राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले मैदानमा ‘बरमुडा’ दुवो रोपिने बताए । यहि दुवो पोखरा रंगशालाको मुख्य फुटबल मैदानमा समेत रोपिएको थियो । बरमुडा दुवो पोखरा फुटबल स्टेडियम निर्माण कम्पनीले भारतको कलकत्ता बाट आयात गरेको थियो ।

विसं २०६४ सालमा बैकल्पिक मैदान एक पटक निर्माण गरिसकिएको मर्मत सम्भार नभएका कारण विग्रिएको थियो । पोखरामा यहि वर्ष फागुन २० गते बाट आयोजना हुने नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि पुनः निर्माण थालिएको हो । यो मैदान ११५ मिटर लम्वाई र ६८ मिटर चौडाई रहेको छ
युवा तथा खेलकुद मन्त्रालयले यो मैदान पुनः निर्माण गर्न ९० लाख बजेट विनियोजन गरेको थियो । यसलाई पुनः निर्माण गर्न एन्फा कास्की मार्फत उपभोक्ता समितीले ३० लाख लिएर काम सुरु गरेको भएपनि विचमानै छोडेर अलपत्र पारेको थियो ।

एन्फा कास्कीले निर्माणको कामलाई अलपत्र पारेपछि पश्चिमाञ्चल क्षेत्रिय खेलकुद र कास्की जिल्ला खेलकुद विकास समितीको सहयोग तथा राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङको निर्देशनमा काम शुरु गरिएको हो । राखेप सदस्य गुरुङले अबको केही दिनमा काम सम्पन्न हुने र दुवो उम्रिन करिव ३ महिना समय लाग्ने जानकारी दिए ।
बैकल्पिक मैदानमा चेन्जिङ रुम, शौचालय र मञ्च समेत निर्माण गरिने छ । यो मैदानको निर्माण बाट साना तथा मझौला तहका प्रतियोगिताहरु आयोजनागर्न सहज हुनेछ ।
