
पोखरा, जापानिज ह्याण्डबल प्रशिक्षक केन्जी इसीहारालाई पोखरामा सम्मान गरिएको छ । जाइका नेपालको समन्वयमा नेपाल ह्याण्डबल संघको निमन्त्रणामा विगत दुई बर्ष अघि नेपाल आएका जापानिज प्रशिक्षक केन्जीलाई मंगलबार पोखरामा विदाईको क्रममा सम्मान गरिएको हो ।
नेपाल ह्याण्डवल संघका केन्द्रिय अध्यक्ष तेज बहादुर गुरुङ, जिल्ला ह्याण्डबल संघ कार्यबाहक अध्यक्ष चित्र थापा, उपाध्यक्ष पुष्पा श्रेष्ठ, सल्लाहकार राम गुरुङले प्रशिक्षक केन्जीलाई मायाको चिनोको साथमा खादा तथा ढाका ढोपी लगायर सम्मान गरेका हुन । दुई बर्षको अन्तरालमा केन्जीले कास्की, पर्वत, स्याङजा, गुल्मी, काठमाण्डौं लगायतका ठाउँका करिब २० वटा बिद्यालयमा ह्याण्डवलको प्रशिक्षण गराएका थिए ।
दुई बर्ष स्वयम सेवकको रुपमा नेपालमा ह्याण्डवल खेलको लागि प्रशिक्षण गराउदा धेरै नेपालीको साथ र सहयोग प्राप्त गरेको बताएका केन्जीले नेपाली खाना निकै मन परेको बताए । स्वदेश फिर्ता भए पछि पुनः नेपाल भ्रमणमा आउने बताएका उनले नेपालमा ह्याण्डव खेलको राम्रो सम्भावना भएकोले नियमित रुपमा यस खेलको प्रतियोगिता र प्रशिक्षण गर्नुपर्ने सुझाव दिए ।
पुनः जापानबाट अर्को प्रशिक्षकको माग गर्ने भएको अध्यक्ष गुरुङले जनाए । केन्द्र बाहिर यस्ता विदेशी प्रशिक्षक आउनुले खेलकुदको धेरै विकास हुने उनले विश्वास व्यक्त गरे ।
