
पोखरा, कास्की घान्द्रुक स्थायी घर भई हाल बेलायत बसोबास गर्दै आएका श्रीभक्त गुरुङको स्मृतिमा पोखराको सहारा एकेडेमीको सहयोगार्थ सहारा एकेडेमीको अक्षयकोषमा सहयोग रकम प्राप्त भएको छ ।
सहारा एकेडेमीलाई व्यवस्थित बनाउनका साथै आफ्नो जन्म दिन संगै आफन्तजनको स्मृतीमा समेत एकेडेमीमा पुगेर सहयोग गर्नेहरुको संख्या समेत दिन प्रतिदिन बढ्दै गएको छ । यसै क्रममा श्रीभक्त गुरुङको पारम्परिक अर्घौको तेश्रो अर्थात अन्तिम दिन तमू प्ये ल्हु संघ पोखरामा श्रीभक्तकी आमा मनबुजा गुरुङले सहारा क्लवका अध्यक्ष केशव बहादुर थापालाई २ लाख ५७ हजार ५ सय रुपैया सहारा एकेडेमीको अक्षयकोषमा सहयोग रकम हस्तान्तरण गरेकी हुन ।
छोराको स्मृतीमा सहारा एकेडेमीमा सहयोग अतुलनिय कार्य रहेको हिमाली सांस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङले बताए । सहारालाई सहयोग गर्न श्रीभक्तका ठुलो बुबा मेजर ज्ञानबहादुर गुरुङ, क्या.जग बहादुर गुरुङ, क्या. रुप बहादुर गुरुङ तथा परिबारका सदस्यहरु सहारा एकेडेमी दोबिल्लामा पुगेका थिए ।
सहारा क्लब पोखराद्वारा सञ्चालित एकेडेमीमा कठिन परिस्थिती एवं विपन्न वर्गका १३ जिल्लाका २५ जना बालकहरु आश्रित रहेकोे महासचिव रामजी प्रसाद अधिकारीले बताए । सहारा एकेडेमी नेपालकै व्यवस्थित फुटबल एकेडेमी मध्येको एक हो । यस प्रकारका सहयोगले एकेडेमीलाई अझै व्यवस्थित र आश्रित बालकहरुको भरणपोषणमा समेत सहयोग पुग्ने सचिब अधिकारीको भनाई छ ।
