
पोखरा स्पोर्ट । १९ औं एसियाली खेलकुदका लागि गण्डकी प्रदेशका योगेन्द्र शेरचन र नेपाल पुलिसका तिलक पुन मगरसहित चार जना छनोटमा परेका छन् ।
पोखरा रंगशालास्थित आर्चरी प्रशिक्षण केन्द्रमा सम्पन्न सहभागि १३ जना मध्ये ४ जनाले १९ औं एसियाली खेलकुदमा सहभागिता जनाउन पाउने भएका छन् । नेपाल पुलिसका तिलकको एसियाली खेलकुदमा दोश्रो पटकको सहभागिता हो भने अरु सबै पहिलो सहभागिता हो । तिलक रिकर्भ तर्फ १२६७ अंक प्राप्त गरी छनोट हुन सफल भए ।
रिकर्भ महिलातर्फ नेपाल आर्मीकी मञ्जु बजगाँई छनोटमा पर्न सफल भइन । उनले कुल १०७० अंक प्राप्त गरिन् ।
त्यस्तै कम्पाउण्ड पुरुषतर्फ गण्डकी प्रदेशका योगेन्द्र शेरचन छनोटमा पर्न सफल भए । उनले पहिलो पटक एसियाली खेलकुदमा सहभागिता जनाउने भएका हुन् । योगेन्द्र प्रदेश खेलकुद परिषदका सदस्य तथा कास्की आर्चरी संघका अध्यक्ष समेत हुन । उनले छनोटमा कुल १२८९ अंक हासिल गरे ।
१३ औं सागमा काश्य पदक र नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेका योगेन्द्र शेरचनले आफूले अझै मिहनतका साथ राष्ट्रका पदक जित्ने लक्ष्य रहेको बताए । उनले भने–“यो मेरो पहिलो सहभागिता हो । आर्चरी खेलको लामो जिवनको एक सुखद पक्ष एसियाली खेलकुदको महाकुम्भमा पुग्ने मेरो सपना थियो । त्यो आज त्यो पुरा भएको छ । मेरो लक्ष्य पदक प्राप्ती हो ।”
यता महिला कम्पाउण्डतर्फ नेपाल आर्मीकी इमायुङ राई १३०३ अंक प्राप्त गरी एसियाली खेलकुदको यात्रा अघि बढाएकी छन् ।
आसन्न १९ औं एसियाली खेलकुदमा छनोटमा परेका नेपाली आर्चरहरुले १० इभेन्ट मध्ये ६ इभेन्टमा प्रतिस्पर्धा गर्ने छ ।
छनोट प्रतियोगितामा कुल १३ जना सहभागि रहेको संघका अध्यक्ष दिपकराज गुरुङले पोखरा स्पोर्टसलाई बताए । “आज हामीले छनोट खेल सक्यौं । उहाँहरुले जितेर आउनेमा हामी आशावादी छौं । म संघको तर्फबाट शुभकामना दिन चाहन्छु । उहाँहरुको जितले नेपाली आर्चरी खेलको विकासमा नयाँ फड्को मार्न सक्छ,” उनले भने ।
चिनको होङझावमा हुने एसियाली खेल छनोटमा रिकर्भ पुरुषमा ४ जना सहभागि थिए । महिला रिकर्भमा पनि ४ जनाले प्रतिस्पर्धा गरेका थिए । कम्पाउण्ड तर्फ महिला र पुरुष तर्फ ३–३ जना अन्तिम छनोट प्रतिस्पर्धामा थिए । रिकर्भ तर्फ ७० मिटर र कम्पाउण्ड तर्फ ५० मिटरमा प्रतिस्पर्धा गरेको नेपाल आर्चरी सघका वरिष्ठ उपाध्यक्ष बसन्त थकालीले जानकारी दिए ।
