
पोखरा, १४ फागुन ।
नेपाल बक्सिङ्ग संघको आयोजनामा देश भरिका ३९ जना बक्सिङ्गका रेफ्रि जजहरुलाई तीन दिने बक्सिङ्ग रेफ्रि रिफ्रेशर प्रशिक्षण तालिम पोखरामा सम्पन्न भएको छ ।
उक्त रेफ्री जज रिफ्रेसर तालिमलाई आईबाका आई टि ओ एक्सपर्ट एवम् आईबा टेक्निकल एण्ड रुल्स कमिसशनका सदस्य भारतका थ्री स्टार रेफ्री जज किशेन नारसीले सञ्चालन गरेका थिए । सन १९५६ मा बक्सिङ्ग खेलाडीको रुपमा बक्सिङ्ग खेल शुरु गरेका नारसीले ६ वटा ओलम्पिक गेममा र आठवटा एशियन गेम्समा रेफ्री जजको भुमिका निर्वाह गर्दै १५ वर्ष देखि आईबा टेक्निकल एन्ड रुल्स कमिशनमा कार्य गरी सकेका छन् ।
बिहान अध्यापन र बेलुकीको शत्रमा आठौ राष्ट्रिय खेलकुदको लागी प्रदेश नं. ३ र ४ को लागि प्रदेशस्तरीय छनौट खेलका क्रममा प्रयोगात्मक प्रशिक्षण दिइएको थियो ।
सहभागीहरुलाई प्रशिक्षणको प्रमाणपत्र प्रदान गर्दै नारसीले नेपाली आरजेहरुको प्रसंसा गर्दै नेपाली महिला बक्सिङ्ग खेलाडीहरु पनि अन्तराष्ट्रियस्तरमा पदक जित्न सफल भएको र नेपालमा बक्सिङ्ग खेलको विकासको राम्रो सम्भावना रहेको जानकारी गराए ।
समापन कार्यक्रमको प्रमाणपत्र हस्तान्तरण तथा समापन समारोहमा नेपाल बक्सिङ्ग संघका अध्यक्ष राम अवालेले सबै रेफ्री जजहरुले राम्रोसंग मेहनेत गर्दै अगाडि बढन र नेपाली बक्सिङ्गलाई अझ उचाँइमा पु¥याउने महत्वपुर्ण भुमिका रेफ्रीहरुले निर्वाह गर्नु पर्ने बताए ।
कार्यक्रमका प्रमुख अतिथि राखेपका सदस्य एवम् नेपाल बक्सिङ्ग संघका वरिष्ठ उपाध्यक्ष अर्जुन केसीले अनुभवी प्रशिक्षकबाट तालिमप्राप्त गर्ने मौका नेपाली आरजेले पाएको र यस्ता प्रशिक्षणहरु समय समयमा आयोजना गर्नका लागि नेपाल बक्सिङ्ग निरन्तर कटिवद्ध रहनु पर्ने बताएका छन ।
बक्सिङ्गका प्रमुख प्रशिक्षक प्रकाश थापामगर, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका निर्देसक एवम् बक्सिङ्गका पुर्व प्रमुख प्रशिक्षक विद्या मर्सानी, कास्की जिल्ला बक्सिङ्ग संघका अध्यक्ष बुद्ध गुभाजु, नेपाल बक्सिङ्गसंघका सदस्य लक्ष्मण कार्की लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।
