जेसिज कपको उपाधिमा न्यु वेष्ट प्वाईन्टको ह्याट्रिक

अर्जुन कार्की
बागलुङ,  म्याग्दीको बेनी बजारमा भएको १८ औं नरेश मोबाइल अन्तर मावि जिल्ला स्तरिय जेसिज कप फुटबलको उपाधि न्यु वेष्ट प्वाईन्ट अवासिय मावि बेनीले जितेको छ ।

न्यु वेष्ट प्वाईन्टले शनिबार उपाधि जित्दै जेसिज कपमा लगातार तेस्रो पटक उपाधि जित्दै रनिङ्ग शिल्ड आफ्नो पोल्टामा पार्न सम्फल भएको छ । शनिबार भएको फाइनल खेलमा न्यु वेष्ट प्वाईन्टले बुद्ध एकेडेमी बोर्डिङ्ग स्कुल बेनीलाई ८–१ गोलअन्तरले पराजित गर्दै उपाधि चुमेको हो । सुरुवातदेखि आक्रमक खेलेको वेष्ट प्वाईन्टको जितमा दुई खेलाडीले ह्याट्रिक पुरा गरेका थिए ।

वेष्ट प्वाईन्टले खेलको चौथो मिनेटमै निशान गौचनको गोलबाट अग्रता लिएको थियो । खेलको २० मिनेटमा बुद्ध एकेडेमीका नेत्र हुमेनले गोल गर्दै खेललाई बराबरीमा ल्याएपनि २२ औं मिनेटमा मनिष श्रेष्ठले गोल गर्दै पुन वेष्ट प्वाइन्टलाई खेलमा अग्रता दिलाएका थिए । श्रेष्ठले खेलको ७० औं र ८८ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए ।

वेष्ट प्वाईन्टको लागि आदित्य वि.क.ले २८ औं मिनेटमा गोल गरेका थिएभने अमृत तामाङले ४५ औं, ६४ औं र ७८ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गर्दै स्कुललाई पनि ह्याट्रिक उपाधि दिलाए । प्रतियोगिताको उपाधि जितेको वेष्ट प्वाईन्टले ५१ ह्जार रुपैयाँ सहित ट्रफि र मेडल प्राप्त गर्यो भने उपविजेता बुद्ध एकेडेमीले ३१ हजार रुपैयाँ सहित ट्रफि र मेडलमा चित्त बुझायो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बुद्ध एकेडेमीका टिम क्याप्टेन नेत्र हुमेन घोषित भएका छन् । यस्तै न्यु वेष्ट प्वाईन्ट आवासीय माविका टिम क्याप्टेन तेजिन घर्ति मगर उत्कृष्ट डिफेण्डर, प्रतियोगिता अवधिभर १२ गोल गर्न सफल न्यु वेष्ट प्वाईन्टका मनिष श्रेष्ठ सर्वाधिक गोलकर्ता, वेष्ट प्वाईन्टकै आदित्य बिक उत्कृष्ट मिडफिल्डर, सामुदायीक माविका विजय छिनाल उत्कृष्ट स्ट्राइकर, न्यु वेष्ट प्वाईन्ट आवासीय माविका सज्जन बराइली उत्कृष्ट गोलरक्षक र बेनी सामुदायीक माविका गौतम केसी द राइजिङ प्लेयर, न्यु वेष्ट प्वाईन्ट आवासीय माविका खेल शिक्षक दिपेन राई उत्कृष्ट प्रशिक्षक घोषित हुँदै नगद २–२ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

यस्तै दरबाङको केबी एकेडेमी बोर्डिङ स्कुल अनुशासित टिम घोषित हुँदै झलक खगेश्वरी अवार्ड सहित नगद ७ हजार ७ सय ७७ रुपैयाँ प्राप्त गरेको छ । प्रतियोगितामा म्याग्दीका २० विद्यालयको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close