
पोखरा, नेपाली महिला क्रिकेट टोलीका प्रशिक्षक जगतबहादुर टमटाले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा नेपालको लक्ष्य स्वर्ण पदक हुने बताएका छन् ।
पोखरा रंगशालामा अभ्यासका क्रममा भेटिएका प्रशिक्षक टमटाले यसपटक नेपालको टोली पूर्णतया सन्तुलित रहेको बताए । ‘हामी ब्याटिङ्ग र बलिङ्ग दुवैतर्फ बलियो छौं, फिल्डिङ्गमा खेलाडीहरु फुर्तिला छन्’–उनले भने ।
श्रीलंका र बंगलादेश नेपालका लागि बराबरिको प्रतिद्वन्दी हुने उनले बताए । यसअघि नेपालले दुवै देशसंग प्रतिस्पर्धा गरिसकेको छ । यि दुवै राष्ट्रसंगको नतिजा दिनमा निर्भर रहने प्रशिक्षक टमटाको भनाई छ । ‘टी–ट्वान्टी हो, जसको दिन लाग्छ, जित उसैको हुन्छ’ उनले भने ।
बुधबारमात्र पोखरा आइपुगेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले बिहीबार पोखरा रंगशालामा अभ्यास गरेको थियो । यहाँका १९ वर्ष मुनिका बलरहरुले गरेको बलिङ्गमा नेपाली महिला व्याट्स्उमनहरुले व्याटिङ्ग गरे । ‘पिच उत्कृष्ट बनेको छ, आउटफिल्ड पनि मन प¥यो’– नेपाली टोलीका क्याप्टेन रुबीना क्षेत्रिले भनिन् ।
यसपटकको साग अन्तर्गत महिला क्रिकेटमा आयोजक नेपाल सहित माल्दिभ्स, बंगलादेश र श्रीलंकाले प्रतिस्पर्धा गर्दैछन् । राउण्ड रोबिनको आधारमा हुने खेलमा शिर्ष दुई स्वर्ण पदकका लागि भिड्ने छन् । पुच्छरका दुई टोली कास्य पदकका लागि आमने सामने हुनेछन् ।
खेल तालिका अनुसार नेपालले मंसिर १६ मा माल्दिभ्स विरुद्ध, १८ गते बंगलादेशसंग तथा २० गते श्रीलंकासंग प्रतिस्पर्धा गर्नेछ ।
नेपाली महिला टोली यसप्रकार रहेको छ
रुबिना क्षेत्री बेलबासे (कप्तान), सिता राना मगर (उप कप्तान), इन्दु बर्मा, काजल श्रेष्ठ (विकेटकीपर), करुणा भण्डारी, अप्सरी बेगम, सोनु खड्का, सरस्वती चौधरी, ममता चौधरी, अन्जली चन्द, सरिता मगर, सुमन खतिवडा (शान्ती), रोमा थापा, डली भट्ट र कविता कुँवर ।
वैकल्पिक खेलाडी : ज्योति पाण्डे, संगिता राई र अस्मिना कर्माचार्य ।
प्रशिक्षक : जगत टमटा ।
फायल तस्बिर

One Comment