पोखरा स्टेडियम अन्तिम चरणमा

पोखरा, आसन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) आउन जम्मा ३ दिनमात्रै बाँकी छ । खेल सुरु हुन ३ दिनमात्रै बाँकी छँदा पोखरा रंगशाला पुनर्निर्माण तीव्र पारिएको छ । रंगशाला रङरोगन गर्नेदेखि रंगीबिरंगी फूलले सजाउने काम भइरहेको छ ।

१३ औं सागका ८ खेल पोखरामा हुने तय छ । त्यसमध्ये महिला फुटबल र क्रिकेट, ह्यान्डबल, आर्चरी र ब्याडमिन्टन पोखरा रंगशालामा हुनेछन् । १० हजार सिट क्षमताको प्यारापिट जडान गर्ने लक्ष्यसहित भारतको ग्रेट स्पोर्टस इन्फ्रा (जिएसआई) र नेपाली कम्पनी एमए कन्स्ट्रक्सन जेभी जिम्मा लिएका छन् । सोही लक्ष्य अनुसार अहिलेसम्म जम्मा ५ हजार सिट क्षमताको प्यारापिट जडान भइसकेको छ ।

ग्यालरी ए, बि, सि भागमा विभाजन गरेर अहिले प्यारापिट जडान भइरहेको स्टेडियमका प्रोजेक्ट म्यानेजर दीपक बरालले जानकारी दिए । उनले ४ ग्यालरीमध्ये सि ग्यालरीमात्रै जडान कार्य सकिएको सुनाए । उनले भने, ‘ग्यालरीको प्यारापिट नेपालको झन्डासँग मेल खाने गरी रातो र निलो रङको सिट जडान गरिएको छ ।’

बाँकी ५ हजार सिट क्षमताको प्यारापिट सोमबारबाट जडान कार्य सुरु भइसकेको छ । ‘भर्खरै सि ग्यालरी जडान सक्यौं । बाँकी प्यारापिट पनि ३/४ दिनमै सकिहाल्छ,’ उनले भने । उनले रंगशालाको बाहिरी भागमा भएको सिन्थेटिक एथ्लेटिक ट्र्याकको काम पनि अन्तिम चरणमा पुगेको जानकारी दिए ।

‘ट्रयाकको मार्किङ पनि सुरु भइसक्यो,’ बरालले भने, ‘टप लेयरको काम सकिइसक्यो । ट्रयाकमा मार्किङ पनि गरिसक्यौं । प्वाइन्टका काम आजदेखि सुरु भइसक्यो ।’ पोखरामा हुने तय भएको महिला फुटबल मंसिर १७ गतेदेखि सुरु हुँदैछ । पहिलो खेलमा आयोजक राष्ट्र नेपालले श्रीलंकासँग भिड्ने भएको छ ।
तस्बिरः सुदर्शन रंजित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close