
पोखरा, १३ बैशाख । पाँचौं केएनपी राष्ट्रिय महिला भलिबललाई एनआईसी एशिया बैंकले बैकिङ पार्टनरको रुपमा साथ दिने भएको छ । शुक्रवार टेक्निकल मिटिङका अवसरमा प्रतिष्ठानकी उपाध्यक्ष सिता खड्का र एनआईसी एशिया बैंकका सुचना अधिकारी रवि केसीबीच सम्झौता पत्र आदान प्रदान भएको छ ।
शनिवार देखि संचालन हुने प्रतियोगिता लिगकम नकआउटका आधारमा खेलाईने छ । साविक बिजेता एपीएफ, आर्मी र जाउलाखेल भलिबल प्रशिक्षण केन्द्र समूह ‘ए’ मा छन् भने समूह ‘बी’ मा नेपाल पुलिस, होङगान्जी न्युडायमण्ड र पश्चिमाञ्चल रहेका छन् ।
लागनखेल स्थित आर्मीको कभर्डहलमा संचालन हुने प्रतियोगिताको बिजेताले २ लाख, उपबिजेताले १ लाख, तृतिय हुने टिमले ५० हजार नगद प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोेकृष्ट खेलाडी र शेरवहादुर खड्का स्पेशल अवार्ड बिजेताले जनही १५/१५ हजार प्राप्त गर्ने छन् । बिद्यागततर्फ वेष्ट स्पाईकर, वेष्ट सेटर, बेष्ट ब्लक, बेष्ट डिफेन्स, बेष्ट क्विकर, बेष्ट सर्भर र बेष्ट कोचले जनहि ५ हजार नगद प्राप्त गर्ने छन् । प्रतियोगिताको प्रत्येक खेलको ‘वोमन अफ द म्याच’लाई नगद ५ हजार सहित आर्कषक ट्रफिले पुरस्कृत गरिने भएको छ ।
प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने खेलाडी, प्रशिक्षक, ब्यवस्थापक र अन्य तिन टिमका प्रशिक्षक टिम कप्तान र ब्यवस्थापकको लागि फाईनल खेल पश्चात अन्नपूर्ण होटल, दरवार मार्गले रात्री भोजको सौजन्य गरेको छ । खेलाडीलाई प्रोत्सहन स्वरुप प्रतियोगिताको सर्वोकृष्ट खेलाडी र शेरवहादुर खड्का स्मृति स्पेशल अवार्ड बिजेतालाई सुलक्स सेन्टरबाट ३०/३० हजार बराबरको टिसर्ट घडी उपलब्ध गराउने छ ।
साथै दरवार मार्ग स्थित द रिगल ईकले प्रथम हुने टिमका सम्पूर्ण सदस्यलाई करिब ५ लाख बराबरको १५ थान सुट पिस प्रायोजन गरेको छ । त्यस्तै प्रतियोगिताको उदयमान खेलाडी तथा शेरवहादुर खड्का स्पेशल अवार्ड बिजेता खेलाडीद्धयले बुद्ध एयरबाट सौजन्य गरिएको माउण्टेन फ्लाईट टिकट प्राप्त गर्ने छन् । चार दिने प्रतियोगिताको अनुमानित बजेट २१ लाख रहेको छ ।
नेपाल भलिबल संघका महासचिव जितेन्द्रवहादुर चन्दको प्रमुख आतिथ्यमा संचालन भएको टेक्निकल मिटिङ अन्तर्राष्ट्रिय रेफ्रि क्यानिडेड चन्द्र वदन राईले संचालन गरेकी थिईन् ।


