लमजुङको भोटेओडारमा १५ किमि सडक दौड ‘मिनी म्याराथन’ हुने

पोखरा स्पोर्टस । लमजुङको सुन्दरबजार नगरपालिका ९, भोटेओडारमा यही मंसिर १८ गते खुला पुरुष सडक दौड ‘मिनी म्याराथन’ प्रतियोगिता हुने भएको छ ।

जिल्ला खेलकुद विकास समितिले एक पत्रकार भेटघाट कार्यक्रम गरी मंसिर १८ गते खुला पुरुष सडक दौड हुने जानकारी गराएको हो । ‘मिनी म्याराथन’ नाम दिइएको उक्त दौड बेंसीसहर नगरपालिकाको सीमा उदिपुर गेटबाट भोटेओडार बगैंचा, सिउँडीबार, सुन्दरबजार कृषि क्याम्पसको गेट, पाउँदीबाट सिउँडीबार हुँदै भोटेओडार कृष्ण बगैंचासम्मको करीब १५ किलोमिटर दुरी रहेको आयोजक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योगबहादुर गुरुङ (कालु)ले जानकारी दिएका छन् ।

प्रतियोगितामा प्रथम हुनेलाई नगद ४४ हजार ४ सय ४४ रुपैयाँ, मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने द्वितीय हुनेलाई नगद २२ हजार २ सय २२, तृतीय हुनेलाई ११ हजार १ सय ११ रुपैयाँ र सान्त्वना हुने २ जनालाई जनही ५ हजार ५ सय ५५ रुपैयाँ, मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिए । प्रतियोगितामा देशभर जुनसुकै ठाउँका जुनसुकै र उमेर समुहले सहभागि हुन पाउने जनाइएको छ ।

जिल्ला खेलकुद विकास समितिले पहिलोपटक ‘मिनि म्याराथन’का नाउँमा सडक दौड आयोजना गर्न लागेको हो । प्रतियोगिता संचालनको लागि गण्डकी प्रदेश खेलकुद परिषदले ४५ हजार रुपैयाँ बजेट व्यवस्थापन गरेको र बाँकी सवै जिल्ला खेलकुद विकास समितिले खर्च गर्ने अध्यक्ष गुरुङले बताए । उनका अनुसार प्रतियोगिता संचालन गर्न ४ लाख ६० हजार खर्च अनुमान गरिएको छ । यतिबेला जिल्ला खेलकुद विकास समितिमा कुनै कर्मचारी नहुँदा काम गर्न असहज भएको बताउँदै अध्यक्ष गुरुङले खेल क्षेत्रको विकासका लागि धेरै योजना हुँदा–हुँदै पनि कर्मचारी र बजेट अभावले काम गर्न समस्या भएको गुनासो गरे ।

जिल्ला खेलकुद विकास समितिका सचिव रोजी गुरुङले समितिलाई कुनैपनि बजेट नआए पनि समय–समयमा विभिन्न सरकारी तथा गैरसरकारी एवं सरोकारावाला निकायसंग मिलेर खेलकुदका कार्यक्रम गर्दै आएको बताइन् । उनले बजेट प्राप्त भएमा धेरै प्रकारका खेल गतिविधि गर्न सकिने बताइन् । कार्यक्रममा प्रदेश खेलकुद परिषद्का सदस्य दिवाकर बराल (बासु), जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष गोविन्द बस्नेत, उपाध्यक्ष गजेन्द्र श्रेष्ठ, जिल्ला सदस्य आलोक गुरुङ लगायतको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close