पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी सुरु, बन्यो आयोजक समिति

पोखरा स्पोर्टस । । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था ‘नेपाल भूतपूर्व खेलाडी मञ्च’को आयोजनामा हुने ‘१८ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को तयारी सुरु भएको छ ।

आगामी फागुन ५ गते शनिबार आयोजना हुने नेपालकै जेठो म्याराथन ‘१८ औं पोखरा अन्तर्राष्टिय म्याराथन’को तयारी सुरु भएको मञ्चले जनाएको हो । मञ्चको हालै सम्पन्न कार्यसमितिको बैठकले तयारी संगै १८ औं संस्करणको लागि २४ विभिन्न उपसमितिका संयोजक गठन गरेको अध्यक्ष हरि प्रसाद पराजुलीले जानकारी दिएका छन् ।

पोखरा म्याराथनको तयारी संगै मञ्चले खेलाडी दर्ता प्रक्रिया समेत अघि बढाएको जनाएको छ भने म्याराथन सफल बनाउन प्रथम उपाध्यक्ष दिल बहादुर गुरुङलाई मुख्य संयोजक तोकिएको छ । पोखरा म्याराथनमा सहभागि हुने खेलाडीले पोखरा म्याराथनको वेवसाईट www.pokharamarathon.org मार्फत दर्ता गर्न सक्ने छन् । १८ औं संस्करणको खेलाडी अन्तिम दर्ता प्रक्रिया माघ १७ गते सम्म हुनेछ ।

सफल दुध मुख्य प्रायोजक रहेको पोखरा म्याराथनलाई गण्डकी प्रदेश सरकार, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगर पालिका, राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी, नेपाल ओलम्पिक कमिटि, कृषि बिकाश बैंक ली., पोखरेली मञ्च युके मुख्य सहयोगीको रुपमा रहेका छन् ।

त्यसै गरी तमु धिं युके, सहारा युके, बगर भाई खलक यूके, वोष्टन/न्यू ह्याम्पशायर नेपाली समाज अमेरिका, दुर्गा गुरुङ यूके, चन्द्र गुरुङ अस्ट्रेलिया, सहारा क्लव अस्ट्रेलिया, सहारा क्लव हङकङ, हिमा अस, केल्मी, एक्सटेप स्पोर्टस वेयर, जोनी पाहारी स्कटल्याण्ड लगायत स्वदेश तथा विदेशका समाजसेवीहरु, उद्योगी तथा व्यवसायीहरुले सहयोग गर्दै आइरहेका छन् ।

त्यसै गरि १८ औं संस्करणको खुल्लातर्फको प्रथम पुरस्कार राशी नगद रु ५ लाख पूर्व राष्ट्रिय तेक्वान्दो खेलाडी एवं ग्राण्ड मास्टर तथा वि विल राइज फाउन्डेशनका अध्यक्ष तुलसी कुमार गुरुङले प्रदान गर्ने घोषणा गरेका छन् ।

त्यसै गरि १८ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा ‘च्यारिटी रन’का लागि समाजसेवी तथा खेलप्रेमी योगेश गुरुङको नेतृत्वमा युकेबाट एक टोली पोखरा आउने भएको अध्यक्ष पराजुलीले जानकारी दिएका छन् । उनी यूवा खेलाडी उत्पादनका लागि मञ्चद्वारा स्थापित अक्षय कोषका संस्थापक समेत हुन् ।

पोखरा अन्तर्राष्ट्रिय म्याराथन म्याराथनहरुको अन्तर्राष्ट्रिय छाता संस्था ‘एम्स’मा दर्ता भए संगै यसले विश्वको ध्यान खिच्न सफल भएको बताउँदै अध्यक्ष पराजुलीले पोखरा म्याराथनले खेलकुदमार्फत पर्यटन प्रवर्द्धनमा समेत अहम भूमिका खेलेको बताए । उनले भने–“यो म्याराथन आयोजनाले मुलुकको समृद्धिमा भूमिका खेलेको छ । १८ औं संस्करणमा सबै कुरा सहज भयो भने ५० भन्दा वढि देशका धावक पोखरा आउने छन् ।”

पोखरा म्याराथनको रुट समेत अन्तर्राष्ट्रिय मान्यता प्राप्त रुट रहेको र विश्वका ठूला शहरमा आयोजना हुने जस्तै गरि पोखरा म्याराथन संधै चर्चामा हुने गरेको अध्यक्ष पराजुलीले बताए । “यो हाम्रो लागि खुसीको विषय हो । अग्रज खेलाडीहरुले राष्ट्रको खेलको लागि मात्रै पसिना बगाएका छैनन् । उनीहरुले संस्था समेत स्थापना गरेर खेलकुदमा योगदान दिएका छन् भन्ने उदाहरण लाई स्थापित गरेको छ”, उनले भने ।

१८ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा भने पुरस्कार राशीमा कुनै फेरबेदल नगरिएको मञ्चले जनाएको छ । म्याराथन अन्तर्गत ८ वटा इभेन्टहरु हुने गरेको छ । म्याराथन सम्पन्न गर्न ९० लाख भन्दा वढि खर्च अनुमान गरिएको मञ्चले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close