
पोखरा, १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा मेडल जित्ने खेलाडीलाई राज्यले उचित सूबिधा र सम्मान दिनु पर्ने राष्ट्रिय खेलकुद परिषद सदस्य राजेश गुरुङले बताएका छन ।
पोखरामा करिब दुई साताको प्रशिक्षण पछि काठमाडौं फर्किन लागेको बक्सिङ टोलीलाई मंगलबार बिदाई गर्दै राखेप सदस्य गुरुङले राज्यका लागि पदक बिजेता खेलाडीलाई सम्मान सहित जिबन जिउने व्यवस्था गर्नुपर्ने कुरामा समेत जोडदिए ।

बक्सिङ खेलले साग खेलमा उत्कृष्ट नतिजा ल्याउने गरि खेलाडीले आफ्नो खेलमा ध्यान दिन आग्रह गर्दै राखेप सदस्य गुरुङले भने–‘गोल्ड मेडल जितेर आउनुहोस अनि के गर्नुपर्छ म त्यसका लागि पहल गर्छु ।’ राष्ट्रका लागि पदक बिजेता खेलाडीले बालुवा चालेर कष्टकर जिवन जिउन बाध्य भएको उदाहरण समेत प्रस्तुत गर्दै उनले खेलाडीलाई त्यो अवस्था आउन दिन नहुने बताए ।
खेलाडीले जिवनमा खेलेर के पायौ भन्ने प्रश्न अहिले पनि समाजमा व्याप्त रहेको कुरा उल्लेख गर्दै राखेप सदस्य गुरुङले पदक बिजेता खेलाडीलाई जिवन अगाडी बढाउन राज्यले केही जग्गा सहित सानो घरको व्यवस्थागर्न सके आफ्नो खेल जिवन संगै परिवार पाल्न सहज हुने धारणा राखे ।

राखेप सदस्य गुरुङले प्रशिक्षकहरुलाई ढाका टोपी र खेलाडीलाई खादा लगाएर बिदाई गरेका थिए । सो अबसरमा उनले खेलाडीलाई बाटोमा खाजा खर्च स्वरुप व्यक्तिगत नगद १० हजार समेत प्रदान गरे । बिदाई कार्यक्रम कास्की जिल्ला बक्सिङ संघका अध्यक्ष बुद्ध गुभाजुको अध्यक्षतामा भएको थियो ।
‘स्पाइरिङ पार्टनर’ नहुँदा प्रशिक्षण छोट्याउनु पर्यो
एक महिनाको प्रशिक्षणका लागि पोखरा आएको नेपाली र।ष्ट्रिय बक्सिङ टोली प्रशिक्षणका लागि आवश्यक पर्ने स्पाइरिङ पार्टनर नहुँदा प्रशिक्षण छोट्याउनु परेको महिला टिमकी म्यानेजर प्रमिला राईले बताएकी छन ।
‘पोखरामा सबै सुविधा पायौं व्ववस्थापन पनि उत्कृष्टनै थियो’ प्रमिलाले भनिन–‘तर खेलका लागि महत्वपूर्ण रहने स्पाइरिङ पार्टनरनै उपलव्ध हुन सकेनन ।’ अब काठमाडौ स्थित नेपाली सेनाको प्रशिक्षण केन्द्र प्रशिक्षण हुने उनले जानकारी दिइन ।
नेपाली राष्ट्रिय बक्सिङ टिमको १५ दिनको बैदेशिक प्रशिक्षणका लागि पहल भइरहेको उनले जानकारी दिइन । विदेश तिर राम्रो प्रशिक्षण केन्द्रमा प्रशिक्षण गर्ने हो भने खेलाडीको मनोबल समेत बढ्ने उनले बताइन । खेलाडीको ‘कन्फिडेन्स लेभल’ राम्रो रहेको बताउँदै उनले अब ‘टेकनिकमा’ ध्यान दिन आवश्यक रहेको बताइन ।
पोखरामा करिब १५ दिन अघि प्रशिक्षणका लागि आएका मध्ये १६ जना महिला र पुरुष खेलाडी एक जना विदेशी प्रशिक्षक सहित ६ जना प्रशिक्षक र दुई जना ब्यवस्थापक रहेका थिए ।
