पोखरा, नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत अभ्यासमा रहेका ८ जना खेलाडी घाइते भएका छन भने एक जना विरामी भएर उपचारका लागि अस्पताल भर्ना भएका छन ।
एक साता अघि मात्रै अन्तिम छनोटमा परेर पोखरामा अभ्यास गरिरहेको ह्याण्डबल टोलीका १६ मध्ये १० जना खेलाडी प्रशिक्षणका दौरान घाइते भएपछि प्रशिक्षणनै रोक्नु पर्ने स्थिती आएको टिमका म्यानेजर जिवन बस्नेतले जानकारी दिएका छन ।
पोखरा रंगशाला स्थित बहुउद्धेश्यिय कभर्ड हलको सिमेन्टको भुइँमा प्रशिक्षण गर्दा अधिंकांश खेलाडी घाइते भएको टिम म्यानेजर बस्नेतले बताए । ‘हामीले सुरु देखिनै म्याटको प्रवन्ध मिलाउन परिषदलाई बारम्बार अनुरोध गरेका थियौं तर हाम्रो कुरा सुनुवाई भएन’ उनले भने–‘अहिले यो स्थिती भयो प्रशिक्षणनै रोक्नु पर्ने भएको छ ।’
दिनका दिनै खेलाडी पालै पालो घाइते हुन थाले पछि घाइते हुनेको संख्या समेत बढेर १० जना पुगेको वरिष्ठ प्रशिक्षक अरुण लाल कर्णले बताए । अब खेलाडीहरु प्रशिक्षण गर्नै नसक्ने स्थिती भएपछि प्रशिक्षण रोक्नुको विकल्प नरहेको उनले बताए । ‘परिषदले म्याट पठाउला र गम लगाएर प्रशिक्षण गरौला भनेको म्याट कुर्दा–कुर्दै साग खेल आउने बेला भइसक्यो’ उनले थपे ।
१६ जना खेलाडी मध्ये १० जना घाइते हुनु र एक जना विरामी पर्नुले ठूलो समस्या आएको टिम म्यानेजरको भनाई छ । घाइते मध्ये खेलाडी रन सिं साउदलाई चिकित्सकले एक साताको लागि आराम गर्न सुझाव दिएका छन । धेरै खेलाडीलाई प्रशिक्षणका दौरान भूइँमा लडेर घुँडा, कुइना लगाएत शरिरका अन्य भागमा चोट लागेको छ ।
ब्रोन्काइटिश भएर ५ दिन देखि रिजनल अस्पतालमा उपचारत रहेका सन्दिप कार्कीलाई केही सुधार देखिएपनि चिकित्सकले उनलाई पनि डेगी पोजिटभ देखिएको जनाएका छन । संदिपको स्वास्थ्य स्थितीमा सुधार देखिए पनि अझै २–३ दिन चिकित्सकको निगरानीमा बस्नु पर्ने भएको छ ।
प्रशिक्षणका दौरान घाइते हुने खेलाडीमा नेपाली ह्याण्डबल राष्ट्रिय टोलीका कप्तान बिशाल बस्नेत, दिनेश श्रेष्ठ, शरण थापा, ईन्द्र नारायण चौधरी, मदन चुनारा, केशव विष्ट, सरोज सिंह, हेमन्त थापा, दिपक सिं बोहोरा र रन सिं साउद रहेकाछन ।
