
पोखरा, नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत बक्सिङको बन्द प्रशिक्षण पोखरामा सुरु भएको छ ।
बन्द प्रशिक्षणका लागि पोखरा आएको बक्सिङ टोलीको स्वागतका लागि पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समिती पोखराले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले सागमा स्वर्ण पदक जित्ने खेलाडीलाई आफ्नो तर्फ बाट एक तोला सुनको मेडल दिने घोषणा गरेका छन ।
स्वागत कार्यक्रममा राखेप सदस्य गुरुङले खेलाडी बिनाको खेल कल्पना समेत कल्पना समेत गर्न नसकिने बताउँदै खेलाडीलाई उचित सुविधा दिन सके मात्र मेडलको आस गर्न सकिने बताए । उनले खेलाडीलाई सम्बोधन गर्दै भने–‘हाम्रो अन्तिम लक्ष्य भनेकोनै पदक ल्याउनु हो पदक ल्याउने खेलाडीलाई राज्य संरक्षणका लागि अगाडी आउनु पर्छ ।’ पोखराको बन्द प्रशिक्षणका क्रममा कुनै समस्या परेमा आफ्नो तर्फ बाट सहयोग गर्ने प्रतिवद्धता समेत उनले व्यक्त गरे ।
पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगीको अध्यक्षतामा भएको कार्यक्रममा राखेपका उपनिर्देशक तथा ह्याण्डबलका मुख्य प्रशिक्षक हिमाल दाहाल, पश्चिमाञ्चल क्षेत्रिय खेलकुदका प्रशिक्षण विभाग प्रमुख विद्या मर्सानी, उपनिर्देशक कृष्ण तिमिल्सिना, लेखा प्रमुख डिबी नेपाली लगाएतले खेलाडी तथा अफिसियलहरुलाई स्वागत गरेका थिए ।
बक्सिङको साग बन्द प्रशिक्षणका लागि १६ जना खेलाडी मध्ये ११ जना खेलाडी पोखरा आइपुगेका छन । नेपाली सेना विभागिय ५ जनाको टोली भने चिनमा आयोजना भएको वल्र्ड आर्मी च्याम्पियनशिपमा सहभागिताका लागि चिन गएको छ ।
साग बन्द प्रशिक्षणमा महिला ४८ केजीमा ललिता महर्जन, ५१ केजीमा माला राई, ५७ मा चन्द्रकला थापा, ५४ मा मिनु गुरुङ, ६० केजीमा संगिता सुनार, ६४ केजीमा पुनम रावल रहेका छन । यसै गरि पुरुष तर्फ ४९ केजीमा सुशिल थापा मगर, ५२ मा तेज बहादुर देउवा, ५६ मा पुरन राई, ६० केजीमा शनिल शाही, ६४ केजीमा भुपेन्द्र थापा, ६९ केजीमा बिकास लामा, ७५ केजीमा दिपक श्रेष्ठ, ८१ क्ेजीमा मनोहर बस्नेत, ९१ केजीमा अर्जुन सिगु, ९१ केजी भन्दा माथी तौलमा आशिष दुवाडी रहेका छन ।
यसै गरि टिमलाई उजबेकिस्तानका अन्तर्राष्ट्रिय प्रशिक्षक अलि शेर राखिमोभले प्रशिक्षण दिने छन भने अन्य प्रशिक्षकमा वरिष्ठ प्रशिक्षक प्रकाश थापा मगर, ओलम्पियन प्रविन तुलाधर, ओलम्पियन डम्बर दत्त भट्ट, दिपक महर्जन र किशोर लिम्बु रहेका छन । यसै गरि पुरुष टिम व्यवस्थापकमा प्रेम बहादुर पौंजु, र महिला तर्फ प्रमिला राई रहेका छन ।
१३ औं सागमा सहभागी हुने खेलाडी मध्ये पुरुष तर्फ ७५ केजी तौलमा प्रतिष्पर्धा गर्ने दिपक श्रेष्ठ र महिला तर्फ ५४ केजी तौलमा प्रतिष्पर्धा गर्ने मिनु गुरुङ १२ औं सागका काश्य पदक बिजेता खेलाडी हुन
