
पोखरा, सहारा क्लब अष्ट्रेलियाले नगद सहयोग रकम सहारा क्लब पोखरा द्वारा संचालित सहारा एकेडेमीलाई हस्तान्तरण गरेको छ ।
सहारा अष्ट्रेलियाले आयोजना गरेको दोश्रो सहारा कप २०१९, सिड्नीमा सम्पन्न प्रतियोगिता बाट संकलित ७७ हजार ६ सय १० रुपैंया (९९५ अष्ट्रेलियन डलर) संस्थाका अध्यक्ष राजमान थकालीले सहारा क्लब पोखराका अध्यक्ष केशबबहादुर थापालाई हस्तान्तरण गरेका हुन ।
उक्त रकम फाइनल खेलको टिकट बाट संकलित गरिएको अध्यक्ष थकालीले जानकारी दिएका छन । सहारा अष्ट्रेलियाले सहारा क्लब पोखराद्वारा सञ्चालित कठिन परिस्थिति एवं विपन्न वर्गका बालकहरुलाई सहारा एकेडेमीको सहयोगार्थ रकम संकलन गरेको हो ।
उक्त रकम अष्टे«लियामा नेपालीहरुले आयोजना गरेको फुटबल प्रतियोगितामा पहिलो पटक टिकट काटेर खेल सञ्चालन गरेको थियो भने सहयोगका लागि भन्दै उक्त टिकट दर्शक, खेलाडी एवं अफिसियलहरुले पनि काटेका थिए ।
अष्ट्रेलिया नेपाली फुटबल एसोसियसन (एन्फा) को सहकार्यमा सहारा क्लब अष्ट्रेलियाले वार्षिक रुपमा आयोजना गर्दै आईरहेको प्रतियोगिता गत अगष्ट १८ देखी सेप्टेम्बर १५, २०१९ सम्म आयोजना भएको थियो ।
प्रतियोगितामा अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुको १६ फुटबल टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको फाईनल खेल सेनजोर्ज नेप्लिज फुटबल क्लब र माछापुच्छ्रे एफ.सी. विच भएको थियो । प्रतियोगितामा विजेता सेनजोर्ज नेप्लिज फुटबल टिम प्रथम भएको थियो । विजेता टिमले २ हजार डलर र दोश्रो हुनेले १ हजार अष्ट्रेलियन डलर नगद पुरस्कार प्राप्त गरेको थियो ।
