
पोखरा,
राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ कास्कीले वडादशैंको अवसरमा विजयादशमीको शुभकामना आदान प्रदान गरेको छ । विहिबार पोखरा रंगशालामा आयोजित उक्त शुभ–कामना कार्यक्रममा उपस्थित खेलकर्मीले दशैं संगै आगामी साग खेलकुद सफलताको कामना गरे ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यलय प्रमुख लक्ष्मणप्रसाद योगीले खेलाडीहरुलाई विजयादशमीको शुभकामना व्यक्त गर्दै पोखरामै आयोजना हुने साग तथा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेलाडीहरुलाई निरन्तर प्रशिक्षण रहिरहन आग्रह गरे ।
समितिका प्रशिक्षण विभाग प्रमुख विद्या मर्सानीले खेलाडीहरुलाई दशैंको शुभकामना व्यक्त गर्दै खेलाडी सधैं अनुशासित र मर्या्दित हुनुपर्नेमा जोड दिए । खेलाडीलाई खेल्ने बातावरण तयार पार्न हामी सबैको कर्तव्य भएको जनाउँदै उनले खेलाडीलाई पनि खेलप्रतिको उत्सुकता हुनुपर्ने बताए ।

नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ कास्कीका अध्यक्ष दिपकबहादुर गोदारले आगामी वर्ष पोखरामै आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि अहिले देखि नै तयारी गर्नुपर्ने बताए । उनले विगतमा झैं मार्शल आर्टका खेलाडीले पश्चिमाञ्चलको विरासत धान्दै आएको बताउँदै उनले खेलाडीलाई हिजोको जस्तो अवस्था नरहेको जिकिर गरे ।
संघका निर्वतमान अध्यक्ष एवं सितेरियो कराँते संघ कास्कीका अध्यक्ष सुरेन्द्र गुरुङ, खेलकुद कर्मचारी संघ कास्कीका अध्यक्ष अरुण दत्त, साईक्लिङ संघका अध्यक्ष शंकर भण्डारी, नेपाल क्योकुशिन बुदोकाईकान कराँतेका निर्वतमान अध्यक्ष धर्म कोईराला, खेलाडी संघका उपाध्यक्ष राजन पौडेल, सचिव हिमाल खड्का,क्योकुशिन कान कराँते डो कास्कीका उपाध्यक्ष दानबहादुर क्षेत्री लगायतले खेलाडीलाई शुभकामना व्यक्त गरेका थिए ।
