
पोखरा स्पोर्टस । बिग्रेड ब्वाइज क्लब(बिबिसी) माथि १–० को कठिन जित निकाल्दै मनाङ मर्स्याङदी क्लब ‘शहीद स्मारक ए डिभिजन लिग’ फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

घरेलु मैदान पोखरा रङ्गशालामा आज आफ्नो दोस्रो खेलमा मनाङले बिबिसी माथि कठिन र सङ्घर्षपूर्ण जित निकाल्दै लिगको अङ्क तालिकाको पहिलो स्थानमा उक्लिन सफल भयो । यससँगै मनाङले एएफसी कप छनोट खेल्ने सम्भावना पनि कायमै राखेको छ ।
घरेलु मैदानमा दोस्रो खेल खेल्ने क्रममा मनाङलाई बिबिसीले दवावमा राखेको थियो । पहिलो हाफको इन्जुरी समयमा मनाङले कप्तान अञ्जन विष्टको गोलमार्फत खेलमा अग्रता बनायो । मनाङका विदेशी खेलाडी दयानन्न सिँहको पासमा खेलको ‘म्यान अफ दी म्याच’ घोषित विष्टले हेडमार्फत गोल गर्दै टोलीलाई महत्वपूर्ण तीन अङ्क दिलाए । यसअघि खेलको १५ औँ मिनेटमा बिबिसीले अग्रता बनाउने सुन्दर मौका खेर फाल्यो । मनाङका डिफेण्डर आदित्य चौधरीले बिबिसीका शिशिर लेखीलाई फल गरेपछि रेफ्रीले पेनाल्टीको अवसर दिएकोमा लेखीको पेनाल्टी प्रहार पोष्टमाथिबाट आकाशियो ।
घरेलु मैदानमा मनाङले आफ्नो स्वभाविक खेल प्रस्तुत गर्न नसक्दा खेल अवधिभर दवावमा परेको थियो । बिबिसीले दोस्रो हाफमा पनि गोलका सुन्दर मौका सिर्जना गरेपनि सदुपयोग गर्न सकेको थिएन । बिबिसीसँँगको जित पछि मनाङ १६ अङ्क सहित लिगको अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ । मनाङ भन्दा एक खेल कम खेलेको मच्छिन्द्र फुटबल क्लब १४ अङ्क सहित दोस्रो स्थानमा छ ।
खेलपछि पत्रकार सम्मेलनमा मनाङका प्रशिक्षक राजेन्द्र तामाङले टिमले स्वभाविक खेल खेल्न नसकेको स्वीकार गरे । आफ्नो टोलीलाई भाग्यले ठूलो साथ दिएको र खेल जितको बताउँदै उनले योजना अनुसार खेल्न नसकेको र तालमेल नमिलेको बताए । खेल जस्तो भएपनि तीन अङ्क जोड्न पाउँदा उहाँले खुःशी व्यक्त गरे ।
विविसिका प्रशिक्षक सनोज श्रेष्ठले पहिलो र दोस्रो हाफमा दुबैमा राम्रो खेलेर गोल गर्ने मौका पाएपनि सदुपयोग गर्न नसकेको बताए । पेनाल्टी सदुपयोग गर्न नसक्नु र दुई वटा बल पोलमा लाग्नु टोलीका लागि दुर्भाग्य भएको उनले उल्लेख गरे ।
तस्विरः सदर्शन रञ्जित
