पोखरा स्पोर्टस । करिव ३७ वर्ष पछि पोखराले नवौ राष्ट्रिय खेलकुद आयोजनाको अवसर प्राप्त गरेको छ ।
२०४० सालमा पोखरामा सम्पन्न दोश्रो राष्ट्रिय खेलकुदमा गण्डकीले प्राप्त गरेको साख फर्किने हो की होइन भन्ने कुरा यति बेला चर्चाको विषय बनेको हो । यति वेला मुलुक संघिय प्रणालीमा प्रवेश गरे सँगै खेलकुदको माहोल पनि परिवर्तित ढाँचामा जानु पर्ने हो । तर त्यो भने हुन सकेको छैन । एकातिर विश्वमा फैलिएको कोभिड–१९ को महामारी सँगै राष्ट्रिय खेलकुदको आयोजना समेत प्रभावित हुने चिन्ता वढेको छ ।
दोश्रो राष्ट्रिय खेलकुदको आयोजना गरेको तत्कालिन गण्डकी अञ्चल खेलकुद र परिवर्तित अवस्थामा रहेको गण्डकी प्रदेश खेलकुद परिषद काँधमा ठूलो जिम्मेवारी आएको छ । विगतको साखलाई जोगाउँदै २१ औं शताव्दीको खेल आयोजनाको भव्यतालाई पनि परिषदले आत्मसाथ गर्नुपर्ने हुन्छ भने प्रशिक्षण सँगै खेलाडीलाई आत्मवल वढाउने अहिलेको खेलकुद नेतृत्वले वुझ्न आवश्यक छ ।
हालै मात्र पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीले नवौंमा समावेश हुने खेलकुद संघहरुलाई वोलाएर सुझाव मागेको थियो । करिव २९ वटा संघहरुले आफ्ना सुझाव प्रस्तुत गरेको समितीका निर्देशक एवम प्रशिक्षण विभाग प्रमुख कृष्ण तिमिल्सिनाले पोखरा स्पोर्टसलाई बताए । ति सुझावहरु संकलन गरेर समितीले गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नर देवी पुनलाई वुझाएको उनले बताए । प्रतिवेदनमा मुख्य गरि खेलाडी प्रतिभा पहिचान र वन्द प्रशिक्षण, स्वयसेवक प्रशिक्षकको नियुक्ती, खेल विज्ञान सम्वन्धि तालिम र वजेट लगायतका विषय प्रमुख रुपमा रहेका छन ।
खेलको वर्गिकरण
मन्त्रालयमा वुझाइएको प्रतिवेदनमा नवौंको लागि खेलको पदकका आधारमा खेलको वर्गिकरण समेत गरिएको छ । ३८ खेल मध्ये १८ वटा खेललाई पदक प्राप्त गर्ने सम्भावित खेलहरु, १२ वटा खेलहरु आम सहभागिता हुने खेलहरु र अन्य ८ खेलहरुमा परम्परागत र सहासिक खेलहरु रहेका छन । वर्गिकृत खेलहरु मध्ये थप गर्न माग गरिएको खेलहरुमा लोक दोहोरी प्रतियोगिता, लोक नृत्य प्रतियोगिता र छेलो प्रतियोगिता रहेका छन । यि खेलहरु गण्डकी प्रदेशको गहनाको रुपमा रुहेको र पदकको सम्भावना समेत रहेको निर्देशक तिमिल्सिनाले बताए ।
राष्ट्रिय खेलकुदमा गण्डकीको नतिजा
विगतको इतिहासलाई फर्किएर हेर्ने हो भने राष्ट्रिय खेलकद प्रतियोगितामा गण्डकीको नतिजा दोश्रो राष्ट्रिय खेलकुद वाहेक खासै सुखद छैन । वर्गिकरणका अधारमा गण्डकीले पहिलो राष्ट्रिय खेलकुद २०३८ मा तेश्रो स्थान, दोश्रो राष्ट्रिय खेलकुद २०४० दोश्रो स्थान, तेश्रो राष्ट्रिय खेलकुद २०४२ मा चौथो, चौथो राष्ट्रिय खेलकुद २०५४ मा चौथो, पाँचौ राष्ट्रिय खेलकुद २०६५ मा पाँचौ, छैटौं राष्ट्रिय खेलकुद २०६८ मा छैटौं स्थान, सातौं राष्ट्रिय २०७३ मा पाँचौ र आठौं राष्ट्रिय खेलकुद २०७५–२०७६ मा छैटौं स्थान प्राप्त गरेको थियो ।
प्रशिक्षकको अभाव
गण्डकी प्रदेशमा अहिलेको समस्या भनेको नै प्रशिक्षकको अभाव हुनु हो । निर्देशक तिमिल्सिनाका अनुसार प्रदेशका ११ जिल्लामा ९ वटा खेलका १८ जना प्रशिक्षक मात्रै रहेका छन । पहिलो समस्या नै यहि हो । नवौं राष्ट्रिय खेलकुदका लागि ३५ खेल सँगै ३ वटा थप गरि ३८ वटा खेलको प्रतिष्पर्धा हुने अनुमान गरिएको छ । तर अधिकांश खेल प्रशिक्षक विहिन छन । निर्देशक तिमिल्सिनाका अनुसार प्रदेश सरकारलाई वुझाएको प्रतिवेदनमा कम्तिमा १६ जना स्वयंसेवक प्रशिक्षक नियुक्तीका लागि माग गरिएको छ । तर नवौंको अन्तिम तयारीका लागि ५० जना खेल प्रशिक्षकको आवश्यक्ता रहने तिमिल्सिनाको भनाई छ ।
नवौ राष्ट्रिय खेलकुद र प्रस्तावित वजेट
मुलुकको संघियतामा प्रवेश पछि पहिलो पटक गण्डकी प्रदेशमा आयोजना हुन गइरहेको नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेश सरकारको काँधमा आएको छ । प्रदेश सरकारले एक वर्ष अघि नै गण्डकीमा घोषित नवौंको तयारीका लागि आव २०७७/०७८ का लागि बजेटको तयारी समयमानै गर्नुपर्ने थियो । तर सरकारले प्रशिक्षण खर्चका लागि १ करोड ५० लाख गरेको छ भने खेलकुद संघहरुलाई समेत प्रदान गर्ने गरि ५ करोड विनियोजन गरेको छ । यता पश्मिाञ्चल क्षेत्रिय खेलकुदले प्रशिक्षण तयारीका लागि मात्रै २ करोड ४० लाख प्रदेश सरकार सँग माग गरेको निर्देशक तिमिल्सिनाले बताए । उक्त रकम मध्ये प्रतिभावान खेलाडीको छनौट, स्वयंसेवक प्रशिक्षकको नियुक्ती र परिचालन, प्रशिक्षकहरुलाई खेल विज्ञान प्रशिक्षण तालिम तथा खेलाडी वन्द प्रशिक्षण कार्यक्रम रहेका छन ।
