सातौं एनभिए कप लिगका लागि गण्डकी प्रदेशको टोलीको घोषणा

पोखरा स्पोर्टस । गण्डकी प्रदेश भलिबल संघले सातौं प्रधानमन्त्री कप -एन.भि.ए. महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगका लागि गण्डकी प्रदेशको टोलीको घोषणा गरेको छ ।

यहि असार २३ देखि ३० गते सम्म काठमाण्डौमा सञ्चालन हुने प्रतियोगिताका लागि संघले मंगलबार टोलीको घोषणा गरेको हो । नेपाल भलिबल संघको आयोजनामा हुने उक्त प्रतियोगितामा गण्डकी प्रदेशको महिला टिम अरुणा शाही र पुरुष टिम खोम प्रसाद ‘हरि’ पाण्डेको कप्तानीमा मैदान उत्रिने भएको छ । संघले महिलातर्फ १२ र पुरुषतर्फ १२ गरी २४ जना खेलाडीहरुको नाम घोषणा गरेको हो । 

संघले पुरुषतर्फको टिममा भने ३ जना भारतिय खेलाडीहरुलाई स्थान दिएको छ । आगामी दिसेम्वरमा हुने काभा क्लवस्तरिय च्याम्पियनसिपमा गण्डकी प्रदेशबाट सहभागिता गराउने उद्धेश्यका साथ टिममा अन्तर्राष्ट्रियस्तरका खेलाडीलाई स्थान दिइएको अध्यक्ष नविन गुरुङले पोखरा स्पोर्टसलाई जानकारी दिए । “हामी गण्डकी प्रदेशको सशक्त टिम बनाउन चाहन्छौं । त्यसको उद्धेश्यनै काभा च्याम्पियनसिपमा गण्डकी प्रदेशको उपस्थितीलाई बलियो बनाउनु हो”, उनले भने ।

यहि प्रतियोगिताको तयारीका लागि केही दिन अघि मात्रै जापानबाट स्वदेश फर्किएका अध्यक्ष गुरुङले अन्तर्राष्ट्रियस्तरका खेलाडीहरुको टिममा सहभागिताले खेलाडीहरुको मनोबल उच्च हुने संगै उनीहरुबाट समेत केही नयाँ कुरा सिक्ने बताए ।

यस्तो छ गण्डकी प्रदेशको टिम
महिला
अरुणा शाही (कप्तान), पवित्रा सिर्पाली, मनिषा तिलिजा, रेबिना घर्ती मगर, हिरा बुढा, सस्मिता पुन, सजिना बुढाथोकी, सोइङ थापा, लक्ष्मी राना, एलिशा रोका मगर, रोमा महतो र पुजा सेन ठकुरी रहेका छन् ।

महिला टिमको कुख्य प्रशिक्षकमा मलिन रोका, सहायक प्रशिक्षकमा किरण गुरै र व्यवस्थापकमा कमला श्रीस मगर रहेका छन् ।

पुरुष टिम
खोम प्रसाद ‘हरि’ पाण्डे (कप्तान), राजन दलार्मी मगर, सजन चोखाल, विवस आले मगर, दिपक मल्ल ठकूरी, हिमाल सुनारी, इन्द्र बहादुर विक, रवि केसी, घनश्याम चौधरी, कन्चन नविन मन्जुनाथ, कुमार थरुन ग्वाडा, जोशे इविन रहेका छन् ।

यसै गरी टिमको मुख्य प्रशिक्षकमा रमेश केसी, सहायक प्रशिक्षकमा जीवन भण्डारी र टिम व्यवस्थापकमा कुन्जन शाही रहेका छन् ।

प्रतियोगितामा पुरुष तर्फ ८ र महिला तर्फ ६ टिमको सहभागिता रहने छ । पुरुष तर्फ टिपटप हेल्प नेपाल स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको ए.पि.एफ. क्लब, नेपाल प्रहरी, दावाँली मिलन क्लब–काठमाण्डौ, केशवलाल स्मृती प्रतिष्ठान, गण्डकी प्रदेश भलिबल संघ, शैलुङ्ग बागढुङ्गा स्पोर्टस् क्लब–रामेछाप गरी ८ क्लबहरु र महिला तर्फ नेपाल प्रहरी, होङ्गवाङ्गजी न्यू डायमन्ड युथ स्पोर्टस् क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, एभरेष्ट भलिबल क्लब–बुटवल र गण्डकी प्रदेश भलिबल संघ गरी ६ टिमहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।

अनुमानित ७५ लाख खर्च हुने लिगमा महिला तथा पुरुष तर्फ प्रथम, द्वितीय, तृतीय र चतुर्थ स्थान प्राप्त गर्ने टिमहरुले क्रमशः ६ लाख, ३ लाख, १ लाख ५० हजार र ७५ हजार प्राप्त गर्ने छन् ।

त्यस्तै उक्त प्रतियोगितामा पुरुष तथा महिला तर्फ सर्वोत्कृष्ट खेलाडीले जनही नगद रु् ३५–३५ हजार, उत्कृष्ट सर्भर, सेटर, ब्लकर, स्पाईकर, लिवेरो र प्रशिक्षकले जनाही रु. १५–१५ हजार प्राप्त गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close