
पोखरा,
इन्द्रबहादुर गुरुङ स्मृति १८ औं विद्यालयस्तरीय व्याडमिन्टन प्रतियोगताको उपाधि प्रगति बोर्डिङ स्कुलले जितेको छ भने उच्चमाध्यमिक तह तर्फ छात्रा डबल्समा जनप्रियले जितेको छ । शनिबार पोखरा रंगशालास्थित व्याडमिन्टन कभर्ड हलमा भएको फाईनलमा जनप्रियाका पे्रक्षा केसी र पुजा शर्माको जोडीले जनप्रियकै सविना आचार्य र सदीक्षा आचार्यको जोडीमाथि २१–१०, २१–१० को सेटले पराजित गर्दै उपाधि रक्षा गरेका हुन् ।
छात्रा एकल तर्फको प्रतिस्पर्धामा जनप्रियकी सविना आचार्यलाई जनप्रियकै पे्रक्षा केसीले २१–१६, २१–१६ को सेटमा पराजित गर्दै उपाधि आफनो नाममा बनाईन् ।

यसैगरी उच्चमावि तहकै छात्र डबल्स तर्फको उपाधि गण्डकी बोर्डिङ स्कुलले हात पार्यो । गण्डकी बोर्डिङ स्कुलका विधान अधिकारी र अनिष घर्ती २१–१०, २१–१० कै सेटमा पराजित गर्दै उपाधि उचाले । छात्र एकल तर्फको प्रतिस्पर्धामा गण्डकी बोर्डिङका विधान अधिकारीले सैनिक आवासियका पवन गुरुङलाई २१–१५, २१–८ को सेटमा पराजित गर्दै उपाचि उचाले ।

माध्यमिक तहको छात्र डबल्स तर्फको प्रतिस्पर्धामा प्रगतिका शशांक अधिकारी र ओलिभर गुरुङको जोडीले प्रगतिकै रिजन गुरुङ र सुमन गुरुङको जोडीलाई २१–१६,२१–१२ को सेटमा पराजित गर्दै उपाधि उचाल्दा छात्रा डबल्सको तर्फ टप्सकी प्रजिता गुरुङ र एलिशा बलालको जोडीले प्रगतिका निरजरा खड्का र शितल केसीको जोडीलाई १९–२१, २१–१२ र २१–१३ को सेटमा पराजित गर्दैै उचालेका हुन् ।

माध्यमिकतह कै छात्रा एकल तर्फको प्रतिस्पर्धामा टप्सकी प्रजिता गुरुङले प्रगतिका शितल केसीलाई १०–२१, २१–१५ र २१–१२ को सेटमा पराजित गर्दै व्यक्तिगत दोस्रो उपाधि आफनो पोल्टामा पारिन् । छात्र एकल तर्फको प्रतिस्पर्धामा प्रगतिका शशांक अधिकारीले सैनिकका सौरभ बराललाई २१–१०, २२–२० को सेटले पराजित गर्दै उपाधि जिते ।

आधारभूत तह तर्फको छात्र फाईनलमा सैनिकका विजय खत्रीले सैनिककै सुयोग केसीमाथि २१–११, २१–१५ को सेटमा पराजित गरे । छात्रा तर्फको प्रतिस्पर्धामा पोखरा एकेडेमीकी नमूना खड्काले सैनिक आवासिय विद्यालयकी स्वेच्छा खड्कालाई २१–८, २१–१० को सेटले पराजित गर्दै उपाधि उचालिन् ।

प्रतियोगिता उदीयमान खेलाडी छात्र तर्फ कर्म सोनाम ढुकडाक (एसओएस हरमन माईनर), छात्रा तर्फ आयुष्मा नेपाल (फेवा बोर्डिङ) उत्कृष्ट पोशाक शान्ति निकुञ्ज, अनुशासन तर्फ टप्स बोर्डिङ र सर्वाधिक सहभागिता तर्फ सैनिक आवासिय विद्यालयले पुरस्कार प्राप्त गरेको कास्की जिल्ला व्याडमिन्टन संघका उपाध्यक्ष नरबहादुर गुरुङले जानकारी दिए ।

कास्की जिल्ला व्याडमिन्टन संघको आयोजित प्रतियोगितामा विजेता खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवाल, कास्की जिल्ला व्याडमन्टिन संघका अध्यक्ष डम्बरसिंह गुरुङ, प्रतियोगिताका संयोजक बविन बग्दास, संघका सचिव दुर्गा जोजिजू लगायतले पदक तथा ट्रफी प्रदान गरे ।

आधारभूत, माध्यमिक र उच्चमाध्यमिक विद्यालयलाई पुरस्कार स्वरुप स्पोर्टस साईकल समेत प्रदान गरिएको थियो । प्रतियोगितामा २७ विद्यालयका ३०६ जना खेलाडीहरुले विभिन्न इभेण्टमा प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितालाई गरिमा विकास बैंकले मुख्य प्रायोजन गरेको थियो भने टप्स मावि, प्रगति बोर्डिङ, सोल्टी पानी, वडा नं ३ का वडाध्यक्ष रविन्द्रबहादुर प्रजु तथा बबिन टेलरिङसँगै स्पोर्टस साईकलको प्रायोजन भने पोखराको मनसुन साईकल स्टोरले गरेको सचिब दुर्गा जोजिजुले जानकारी दिए ।

