
पोखरा,
ढिकुरपोखरीमा यस वर्ष हुने तीजमेलाको तयारी अन्तिम चरणमा जारी रहेकै बेला मेलाको अवसरमा आयोजना हुने फुटबल प्रतियोगिता समेत अन्तिम चरणमा पुगेको छ ।
स्थानीय ढिकुरपोखरी युवा संजालको आयोजनामा भदौं १३ गतेदेखि १७ गतेसम्म मेला फुटबल प्रतियोगिता हुन लागेको हो । मेला अन्र्तगत खुल्ला नकआउट फुटवल प्रतियोगिता, तीजगीत प्रतियोगिता, घैटो फुटाउने, रस्साकसी लगायतका प्रतियोगिता गरिने भएको हो । त्यस्तै सांस्कृतिक कार्यक्रम, समाजसेवीलाई सम्मान तथा बाल उद्यान पनि रहेको संजालका अध्यक्ष शुसिल भट्टचनले जानकारी दिए।
फुटबल तर्फ कुल १३ टिमको सहभागिता रहनेछ भने ‘तीजगीतको महत्व र यसमा भित्रीएका विकृतिहरु’ विषयक अन्नपूर्ण गाउँपालिका स्तरीय तीजगीत प्रतियोगिता पनि हरीतालिकाको दिन सम्पन्न हुनेछ।
गाउँपालिका अध्यक्ष युवराज कुँवरबाट मेलाको उद्घाटन साथै युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माद्वारा मेलाको समापन गर्ने कार्यक्रम रहेको मेलाका संयोजक विकास गुरुङले बताएका छन्।
फुटबलतर्फ प्रथम पुरस्कार रु. एक लाख २१ हजार एक सय २१, दोस्रो पुरस्कार रु.६६ हजार ६ सय ६६ साथमा ट्रफी, पदक र प्रमाणपत्र रहेको छ । त्यस्तै गीततर्फ प्रथम पुरस्कार रु.१० हजार, द्वितीय पुरस्कार रु. ७ हजार, तृतीय पुरस्कार रु. ५ हजार र प्रमाणपत्र रहेको प्रचारप्रसार संयोजक श्रीभद्र पौडेलले बताए ।
