
पोखरा, २७ साउन । कास्की जिल्ला फुटबल संघ (एन्फा) कास्कीले आयोजना गरेको कास्की जिल्ला स्तरिय एन्फा लिग २०७६ को उपाधीका लागि हेमजाको विष्णु पादुका र लेखनाथको आर्दश यूवा क्लब भिड्ने भएका छन ।
पोखराको भण्डारढिक स्थित आर्दश खेल मैदानमा सम्पन्न सेमीफाइनलमा विष्णु पादुकाले ड्यामसाइड यूवा क्लब र आर्दश यूवा क्लवले सत्य यूवा क्लब वि–१३ लाई पराजित गर्दै फाइनलको यात्रा तय गरेका हुन ।
सम्पन्न पहिलो सेमीफाइनल खेलमा विष्णु पादुकाले ड्यामसाइडलाई २–१ गोल अन्तरले पराजित गरेको हो । खेलको २८ औं मिनेटम ड्यामसाइडका अविनाष तामाङले गोल गर्दै लिगमा अपराजित रहेको विष्णु पादुकालाई पाखा लगाउने प्रयास गरे पने त्यो प्रयास भने दोश्रो हाफको ५६ औं मिनेटमा तोडिन पुग्यो ।
विष्णु पादुकाका लागि टिम कप्तान प्रविन थापाले बराबरी गोल फर्काएका थिए भने ६७ औं मिनेटमा विष्णु गुरुङले दोश्रो गोल गर्दै टिमलाई फाइनलको यात्रा तय गराए ।
यता दोश्रो खेलमा आर्दश क्लबले सत्य यूवा क्लब वि–१३ लाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । खेलको दोश्रो हाफको ८२ औं मिनेटमा अर्जुन राना मगरको गोलको मद्धतले आर्दश उपाधी नजिक पुगेको हो ।
कास्की एन्फा लिगको फाइनल खेल मंगलबार दिउसो १ बजे हुने एन्फा कास्कीका महासचिब रमेश कार्कीले जनाएका छन । कास्की एन्फा लिगको बिजेताले प्रदेश स्तरिय लिगमा सहभागिता जनाउन पाउने छ । कास्की एन्फा लिगमा कुल ५७ खेल सम्पन्न हुने कार्कीले जनाए ।
