
पोखरा, १८ साउन । सहारा क्लब पोखरा द्वारा संचालित १७ औं आहा ! रारा ! गोल्डकपको बचत गत वर्ष भन्दा ९४ प्रतिशतले घटेको छ । सहारा क्लब पोखराले शनिबार पोखरामा गत फागुन ९ देखि १८ गतेसम्म पोखरा रंगशालामा संचालन भएको १७ औं आहा ! रारा ! गोल्डकपको आय–व्यय सार्वजनिक गरेको कार्यक्रममा यस वर्ष १ लाख ४९ हजार ३ सय २६ रुपैयाँ मात्रै बचत भएको देखाएको छ । तर गत वर्ष १६ औं १७ औं आहा ! रारा ! गोल्डकपमा करिब २३ लाख ५० हजार नाफा रहेको थियो ।

‘यो अरु केही होइन यो सबै अखिल नेपाल फुटबल संघ (एन्फा)को समन्वयको अभाव हो’ कास्की जिल्ला फुटबल संघका पूर्व सचिब समेत रहेका सुदर्शन रंजित भन्छन–‘आहा ! रारा ! गोल्डकपको १७ वर्षको इतिहासमा पहिलो पटक यस्तो भयो ।’ दुई वटा ठूला प्रतियोगिताहरु एकै ठाउँमा करिब दुई हप्ताको फरकमा गराउँदाको परिणाम यस्तो भएको रंजितको भनाई छ । ‘न त एन्फा कास्कीले संचालन गरेको मनकामना कप राम्रो हुन सक्यो न त आहा ! रारा ! गोल्डकप । मिती तोक्दा एन्फा गम्भिर हुन पर्ने उनको तर्क छ ।
पोखरामा एकैपटकमा दुई वटा ठूला प्रतियोगिताहरु जुझ्दाको परिणामले गर्दा एन्फा कास्कीले संचालन गरेको मनकामना कपका विजेता टिमले समेत समयमा पुरुस्कार नपाएको गुनासो स्वय बिजेता टिमले गरेका थिए । ‘फुटबल प्रतियोगिता सफल र असफल हुनुमा दर्शकमा भर पर्छ’ अग्रज फोटो पत्रकार समेत रहेका रंजित भन्छन–‘प्रतियोगिता जुध्यो दर्शक आएनन, हुन त प्यारापिट नभएर भनियो तर दोष प्यारापिटको होइन, एन्फाको गलत सोचको हो, एन्फाले दुई वटा प्रतियोगिताका मिती संग–संगै तोक्न हुन्थेन ।’
विगतमा आहा ! रारा ! गोल्डकपकै नाफा बाट नेपालमानै व्यवस्थित फुटबल एकेडेमी संचालन गर्दै आएको सहारा क्लबलाई समेत यति बेला ठूलो झड्का लागेको छ । सहारा क्लबले पोखरा १७ मा संचालन गरिरहेको एकेडेमीमा २८ जना कठिन तथा विपन्न वर्गका बालकहरु अध्ययन संगै फुटबल सिक्दै आएका छन । ‘संधै प्रतियोगिताको नाफा बाट एकेडेमी चल्थ्यो तर अब अक्षय कोषको रकम प्रयोग गर्नु पर्ने बाध्यता रहन्छ’ क्लबका अध्यक्ष केशब बहादुर थापा भन्छन–‘अक्षय कोषमा करिब १ करोड २० लाख छ, हाम्रो २ करोड बनाउने लक्ष्य थियो ।’
आय व्यय प्रस्तुत गर्दै क्लवका कोषाध्यक्ष एवं अर्थ संकलन उपसमितिका सह संयोजक राजु लालचनले १७ औं आहा रारा गोल्ड कपबाट ७० लाख ७८ हजार ७ सय ८६ रुपैया आम्दानी भएको बताए । प्रतियोगिता सम्पन्न गर्न ६९ लाख २९ हजार ४ सय ६० रुपैया खर्च भएको क्लवले जनाएको छ । गेट टिकटबाट १५ लाख ५० हजार २ सय ६५ रुपैया आम्दानी भएको छ भने व्यानर तथा आर्थिक सहयोगबाट १८ लाख ५५ हजनार ४ सय ५० रुपैया आम्दानी भएको कोषाध्यक्ष लालचनले जनाए ।
मुख्य प्रायोजक हिमश्री फुड्स प्रा.लि.को उत्पादन आहा रारा तयारी चाउचाउबाट १३ लाख ५१ हजार रुपैया आम्दानी भएको उनले जनाए । राखेप र गोर्खा ब्रुअरी नेपालबाट ४–४ लाख, हिमांश एजुकेशन कन्सल्टेन्सीबाट ४ लाख एक हजार आम्दानी भएको थियो ।
त्यसै गरी खेलाडीहरुको दैनिक भ्रमणमा २३ लाख १३ हजार ६ सय ४१ रुपैया खर्च भएको छ भने पुरस्कार एवं प्रोत्साहन स्वरुप शिर्शमा १३ लाख २२ हजार, प्रचार प्रसारमा ४ लाख ९७ हजार २ सय ५७ रुपैया खर्च भएको थियो । त्यसै गरी रेफ्रि खर्चमा २ लाख ७८ हजार ८ सय १० रुपैया, मैदान, स्टेज, प्यारापिट व्यबस्थापन र अतिथि सत्कारमा ८ लाख ७७ हजार ४ सय २७ रुपैया खर्च भएको कोषाध्यक्ष लालचनले जनाए ।
