
पोखरा, १६ साउन । कास्कीमा जारी बलराम स्मृती कास्की जिल्ला स्तरिय एन्फा लिगको दोश्रो दिनको खेलमा विष्णुपादुका फुटबल क्लब हेमजाले अन्नपूर्ण गाउँपालिकाको भदौरे क्लब माथी गोलको वर्षा गरेको छ ।
विष्णुपादुकाका ११ खेलाडी मध्ये ८ जना खेलाडीले निर्धारित समय ९० मिनेटको खेलमा विपक्षीलाई १७ गोलको स्वाद चखाए । १७ गोल गर्ने क्रममा विष्णुपादुकाका समिर कार्की एक्लैले ५ गोल गरे भने विशाल सुनार र क्षीतिज कार्कीले ह्याट्रिक पुरा गरे ।

त्यसै गरि विष्णुपादुकाका खेलाडी प्रविन थापाले २, मुकेश श्रेष्ठ, बिकास गुरुङ, सन्जोग केसी र सविन कुवंरले समान १–१ गोल गरे । भदौरेले भने कुनै गोल फर्काउन सकेन । विष्णुपादुकाले ३ अंक बटुलेको छ ।

बिहिबार नै सम्पन्न भएका अन्य खेलमा आदर्श क्लब भण्डारढिक, शितलज्योती यूवा क्लब र गार्डेन फुटबल क्लबले आ–आफ्नो खेल जितेका छन । आर्दश क्लबले डेभिजफल यूथ क्लबलाई १–० गोलले, शितल ज्योतीले अम्बरसिंह यूवा क्लबलाई ४–० गोलले, गार्डेनले नव आदर्श लामाचौरलाई ५–२ गोल अन्तरले पराजित गर्दै समान ३ अंक बटुलेका छन भने इन्द्रेणी क्लब फुलबारी क्लब विचको खेल २–२ को बराबरीमा सकिएको छ । उनीहरुले समान १–१ अंक पाएका छन ।

त्यसै गरि साउन १७ गते शुक्रबार पहिलो खेलमा सहारा क्लबले पोखरा यूनाइटेडको सामना गर्नेछ । दोश्रो खेल एपेक्स विरुद्ध लेकसाइड, तेश्रो खेल हेमजा युनाइटेड विरुद्ध इन्द्रेणी, तेश्रो खेल विष्णु पादुका विरुद्ध एलजी, चौथो खेल एसवाइसी बि १३ बिरुद्ध फुलबारी र संगम विरुद्ध एवाइसी भिड्ने एन्फा कास्कीका महासचिब रमेश कार्किले जनाएका छन ।
