
केशब पाठक,
बेलायतमा खेलकुद र सामाजिक संस्थाको रुपमा अग्रणी भूमिका निर्वाह गरिरहेको संस्था सहारा यूकेले आफ्नो एकेडेमी मार्फत भाबी फुटबल खेलाडी उत्पादन गर्ने लक्ष्य सहित उक्त फुटबल प्रशिक्षण्क कार्यक्रम शनिबार बाट शुभारम्भ गरेको छ ।

बेलायत स्थित फानब्रो कोभ फुटबल क्लबमा संस्थाका अध्यक्ष कुमार गुरुङ र सहारा एफसीका अध्यक्ष कृष्ण गुरुङले प्रशिक्षकलाई बल हस्तन्तरण गर्दै कार्यक्रमको शुभारम्भ गरेका थिए ।

‘सहारा यूके ओपन डे’ को शिर्ष अभियान अन्तरगत सुरु भएको कार्यक्रममा ३५ जना बालकहरु पहिलो दिनमा सहभागीता जनाएको संस्थाका महासचिब धनु थकालीले बताए । ‘यो पहिलो दिनको सहभागिताले नै हामीलाई निकै उत्साह जगाएको छ’ महासचिब थकालीले भने–‘संस्था स्थापनाको ११ वर्ष पछि हाम्रो उद्धेश्य पुरा हुँदैछ, हाम्रो पहिलो पाइला आज बाट अगाडी बढ्यो ।’

फुटबल प्रशिक्षण कार्यक्रममा अझै थप बालक हरु सहभागिता जनाउन सक्ने महासचिब थकालीले पोखरा स्पोर्टसलाई बताए । ‘अहिले ६ देखि १४ वर्ष उमेर समुहका लाई यो प्रशिक्षण अभियानमा समाहित गरेका छौं’ उनले भने–‘आगामी दिन यो संख्या निश्चय पनि बढनेछ ।’ सहारा यूकेले महिनामा कति दिन प्रशिक्षण संचालन गर्ने भन्ने बारे बैठक बसेर छिटो टुँगो लगाइने उनले बताए ।

अहिले प्रशिक्षण अभियानमा रहेका बालकहरुलाई ह्याम्प्शायर फुटबल संघका फुटबल डेभलप्मेन्ट म्यानेजर तथा फुटबल प्रशिक्षक कृष स्मिथ र सोही संस्थाका महिला प्रशिक्षक एलेक्स तथा सहारा एफसीका यूवा तथा खेलकुद संयोजक सञ्जिब रानाले पहिलो दिनको प्रशिक्षण दिएका थिए ।

सहारा यूके सहारा क्लब पोखराको भातृ संस्थाको रुपमा सन २००८ मा बेलायतमा स्थापना भएको हो । सहारा यूकेको पोखरामा सहारा एकेडेमीको स्थापना तथा त्यसको लागि कोष संचालनमा समेत अहम भूमिका खेलेको छ । त्यसै गरि सहारा हङकङ र सहारा अष्ट्रेलिया गरि सहारा क्लब पोखराका भातृ संस्थाहरुले समेत फुटबल बिकासमा योगदान दिएका छन ।





