
केशब पाठक,
पोखरा, ९ साउन । नेपालमा यहि वर्षको डिसेम्बरमा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुल (साग)का लागि प्याराग्लाइडिङको आवश्यक पूर्वाधार बनाउन कसरत शुरु भएको छ । प्याराग्लाइडिङ खेलमा हुने दुई वटा मुख्य इभेन्ट टेन्डम र क्रस कन्ट्रिका लागि दुइृ छुट्टा–छुट्टै जग्गा आवश्यक पर्ने प्राविधिकहरुले बताएका छन ।

पोखरा महानगर पालिका वडा नं १८ प्याराग्लाइडिङका लागि विश्वकै पाँचौ स्थान भए पनि अहिले सम्म राज्यस्तर बाट आवश्यक पूर्वाधार बन्न सकेको थिएन । प्याराग्लाइडिङलाई खेल भन्दा पनि ब्यवसायिक आँखा बाट हेरिएकोले यस्तो अवस्था आएको नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघका महासचिब शैलेन्द्र राउतले बताए ।
पोखरा महानगरले केही दिन भित्र जग्गा उपलव्ध नगराए १३ औं साग अन्तरगत प्याराग्लाइडिङका सबै खेल धरानको प्याराग्लाइडिङ ट्रेनिङ सेन्टरमा सार्नुपर्ने बाध्यता रहेको महासचित्र राउतले बताए । ‘अब साँचो पोखरा महानगरको हातमा छ हामीले भनिसकेका छौं प्याराग्लाइडिङ खेल पोखरामा हुने नहुने सबै जिम्मा हामी महानगरलाई छोड्छौं’ महासचिब राउतले बताए । ‘साग खेल गराउन महानगर सकारात्मक छ छैन हामी हेर्न चाहन्छौ’ उनले भने ।

साग खेलकुदका लागि अब चार महिना बाँकी रहँदा यसको पूर्वाधारका लागि राखेपले चासो र्दिदै पोखरा महानगर संगको सहकार्यमा पूर्वाधार निर्माण गर्ने जनाएको छ । पूर्वाधार निर्माणका लागि राखेप बोर्ड सदस्य राजेश गुरुङ सहित पश्चिमाञ्चल क्षेत्रिय खेलकुदका कर्मचारी र प्राविधिकहरु, प्याराग्लाइडिङ संघ तथा नेपाल हवाई खेलकुद संस्था (ना) का पदाधिकारी, पोखरा महानगर १८ का अध्यक्ष रणबहादुर थापा सहितको टोलीले सराङकोटमा टेक अफको पूर्वाधार र फेवा किनारमा ल्याण्डिङका लागि आवश्यक जग्गाको निरिक्षण गरेका थिए ।

उक्त टोलीले सराङकोट स्थित स्थानिय भिरमाथीको जग्गा र बहाकोटको जग्गामा पूर्वाधार बनाउन मिल्ने गरि अवलोकन गरेको वडा नं १८ का अध्यक्ष थापाले बताए । प्याराग्लाइडिङ समग्र पर्यटनको बिकासका लागि समेत महत्वपूृर्ण रहेकोले यसका लागि महानगर संगै प्रदेश सरकारको समेत उत्तिकै चासो रहनुपर्ने अध्यक्ष थापा बताउँछन । ‘सराङकोट बहकोटको जग्गा प्रति हो, स्थानियलाई रोहबरमा राखेर तुरुन्तै दिन सकिन्छ र यो ठाउँ प्याराग्लाइडिङका उडानका लागि उपयूक्त पनि छ’ अध्यक्ष थापाले भने–‘म यो ठाउँको लागि पहल शुरु गर्छु ।’

पोखराको सराङकोट बाट हुने उडानका लागि प्रायः प्याराग्लाइडिङहरु निजी कम्पनीका स्थानबाट हुँदै आएका छन भने ल्याण्डिङका लागि समेत निजी जग्गा प्रयोग हुँदै आएको छ । पोखरा महानगरले जति छिटो जग्गा उपलव्ध गराउँछ त्यतीनै छिटो पूर्वाधार बन्ने पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगी बताउँछन । उडान र ल्याण्डिङका लागि जग्गा प्रदान गर्न वडा नं १८ सकारात्मक रहेको अध्यक्ष थापाले बताए पनि निर्णय नभए सम्म केही भन्न सक्ने स्थितीमा नरहेको संघका महासचिब राउतले बताए । जग्गा उपलव्ध हुने वित्तिकै पूर्वाधारका काम शुरु गरिने राखेपले जनाएको छ ।

नेपालले १८ औं एशियाली खेलकुदमा प्याराग्लाइडिङले ऐतिहासिक रुपमा रजत पदक जिते पछि खेलकुदको छाता संस्था राष्ट्रिय खेलकुद परिषदले प्याराग्लाइडिङलाई विशेष चासोका साथ हेर्न थालेको हो । ‘यो मात्र एक यस्तो खेलकुद हो जुन खेल बाट खेलाडी समेत ब्यवसायिक बन्न सक्छ’ प्याराग्लाइडिङका मुख्य प्रशिक्षक योगेश भट्टराई भन्छन–‘प्याराग्लाइडिङ खेलाडीलाई संधै ब्यापारी दृष्टीकोणले हेरियो, यति सम्मकी यसका लागि आवश्यक पूर्वाधारका लागि राज्यले कुनै चासो नै दिएको थिएन ।’
तस्बिरः सुदर्शन रंजित
